नेपाल टेलिकमले चालु आर्थिक वर्ष २०८२/८३ को तेस्रो त्रैमासिक अवधिको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । प्रकाशित विवरणअनुसार, चालु आवको नौ महिनामा कम्पनीको सञ्चालन आय र खुद मुनाफा दुवै बढेको छ ।
तेस्रो त्रैमासिकसम्ममा कम्पनीको कुल सञ्चालन आय २.४२ प्रतिशतले बढेर रु. २५ अर्ब ९२ करोड ९६ लाख पुगेको छ । गत वर्षको सोही अवधिमा यस्तो आय रु. २५ अर्ब ३१ करोड ७६ लाख रहेको थियो । त्यस्तै, कम्पनीको कुल आय पनि १.४९ प्रतिशतले बढेर रु. २८ अर्ब ८५ करोड ४८ लाख पुगेको छ । नौ महिनाको अवधिमा खुद मुनाफा ९.८५ प्रतिशतले बढेर रु. ६ अर्ब २७ करोड २९ लाख पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो मुनाफा रु. ५ अर्ब ७१ करोड ५ लाख रहेको थियो ।
यस अवधिमा नाफा बढेसँगै कम्पनीको प्रति शेयर आम्दानी (ईपीएस) रु. ४२.३ बाट बढेर रु. ४६.४७ पुगेको छ । समीक्षा अवधिमा कम्पनीको खुद सम्पत्ति रु. १४ अर्ब ३८ करोड २ लाख पुगेको छ, जुन गत वर्षको तुलनामा १.३२ प्रतिशतले बढी हो ।
जीएसएम सेवातर्फको राजस्व वृद्धि र ह्रासकट्टी खर्चमा कमी आउँदा कम्पनीको नाफामा मृद्धि भएको हो । विवरणअनुसार, जीएसएम राजस्व २.७६ प्रतिशत (रु. ५७ करोड ७४ लाख) ले बढेको छ भने ह्रासकट्टी खर्च ८.४६ प्रतिशत (रु. ३८ करोड ६९ लाख) ले घटेको छ ।


