नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडको कायममुकायम (कामु) प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा महेश शर्मा ढकाल नियुक्त भएका छन् । जेठ ३० गते बसेको बैङ्कको सञ्चालक समितिको बैठकले ढकाललाई कामु सीईओको जिम्मेवारी प्रदान गरेको हो । उनी बैङ्कमा वरिष्ठ नायब सीईओको रुपमा कार्यरत छन् ।
बैङ्कका सीईओ ज्योतिप्रकाश पाण्डेमाथि स्मार्ट टेलिकमसम्बन्धी मुद्दाको अनुसन्धान भइरहेको छ । स्मार्ट सेलको सम्पत्ति गैरकानूनी रूपमा लिलामी गरिएको आरोपमा पाण्डेलाई सीआईबीले पक्राउ गरेको हो । उनलाई सीआईबीले सिन्धुलीको कमलामाई नगरपालिका–६, बसपार्कबाट वैशाख २९ गते राति करिब ८ बजे पक्राउ गरेको थियो ।
सिआईबीले लिलामी प्रक्रियामा कानूनी मापदण्ड उल्लङ्घन, धितो सम्पत्ति व्यवस्थापनमा अनियमितता तथा कर्जा असुली प्रक्रियामा त्रुटि भएको आशङ्कामा अनुसन्धान गरिरहेको जनाएको छ ।
काठमाडौंको रक्तकाली ठेगाना भई ललितपुरको मानभवन बस्दै आएका ६३ वर्षीय पाण्डेविरुद्ध मुलुकी अपराध संहिताको ठगी तथा आपराधिक विश्वाघातको कसुरमा अनुसन्धान अघि बढाइएको सीआईबीले जनाएको छ ।
स्मार्ट टेलिकम आर्थिक सङ्कटमा परेपछि उसका धितो सम्पत्तिहरू लिलामीमा गएका थिए । तर, लिलामी प्रक्रिया पारदर्शी नभएको, सीमित समूहलाई फाइदा पुग्ने गरी निर्णय गरिएको तथा राज्यलाई नोक्सानी हुन सक्ने आशङ्का उठेपछि अनुसन्धान सुरु गरिएको हो ।
सिआईबीले बैङ्किङ कागजात, ऋण सम्झौता, धितो मूल्याङ्कन प्रतिवेदन तथा लिलामीसम्बन्धी अभिलेखहरू अध्ययन गरिरहेको छ । यस प्रकरणमा बैङ्कका अन्य अधिकारी, कम्पनी प्रतिनिधि तथा सम्बन्धित व्यक्तिहरूसँग पनि बयान लिने तयारी भइरहेको बुझिएको छ । अनुसन्धान जारी रहेकाले थप व्यक्तिहरू पनि अनुसन्धानको दायरामा आउन सक्ने बताइएको छ ।


