सरकारले विभिन्न २० करदातामाथि छानबिन गर्ने भएको छ । कर परीक्षण तथा अनुसन्धान गर्न विभिन्न २० करदातालाई १५ दिनभित्र आवश्यक कागजात पेस गर्न निर्देशन दिइएको छ ।
आन्तरिक राजस्व विभागअन्तर्गतको आन्तरिक राजस्व कार्यालय कोटेश्वर, काठमाडौं र ललितपुर २ ले २० करदातामाथि कर परीक्षण तथा अनुसन्धान गर्ने भएको हो । आयकर ऐन २०५८ लगायतका कानुनी प्रावधानअनुसार पटक–पटक पत्राचार गर्दा पनि सम्पर्कमा नआएका तथा कारोबार स्थल फेला नपरेका करदातामाथि कार्यालयले अनुसन्धान गर्ने भएको हो ।
राजस्व कार्यालयले तोकेको १५ दिनभित्र सम्बन्धित प्रोप्राइटर, सञ्चालक, साझेदार वा अधिकृत प्रतिनिधिले आय वर्षसँग सम्बन्धित सम्पूर्ण कारोबार विवरणसहित कार्यालयमा उपस्थित हुनुपर्नेछ । समय सीमाभित्र कागजात पेस नगरेमा कार्यालयमा उपलब्ध तथ्याङ्क तथा सूचनाका आधारमा कर निर्धारण गरिने चेतावनीसमेत दिइएको छ ।
छानबिनमा परेका करदाताहरुमा युनिसा हब ट्रेड प्रालि, टेलिफोनिक ट्रेड प्रालि, मकालु काष्ठ उद्योग प्रालि, सक्षम मार्केटिङ प्रालि, म्याक्स नेट सोलुसन्स प्रालि, सिद्धि सिनर्जी कन्स्ट्रक्सन कम्पनी प्रालि, अयोको सिम्बोल इरेक्टर्स नेपाल प्रालि र एस एण्ड डी सप्लायर्स रहेका छन् ।
कार्यालयका अनुसार, मालिका इन्कर्पोरेट प्रालि, भ्याली रिकेश सप्लायर्स, सम्पन्न ट्रेड कन्सर्न प्रालि, रिहाना इन्टरप्राइजेज, लक्ष्मीपूजाट्रेडिङ, पी.आर. ट्रेडर्स, रिजन एण्ड रोनिश ट्रेड लिंक र बी.एस. बानिया स्टोर पनि अनुसन्धानको दायरामा परेका छन् ।
यस्तै, आन्तरिक राजस्व कार्यालय, ललितपुरले एस.के. इण्डष्ट्रिज, एस.के. ट्रेडर्स, माता चुनदेवी कन्स्ट्रक्सन प्रालि र वृषभ ट्रेड इन्टरनेशनल प्रालिलाई कागजात पेश गर्न निर्देशन दिएको छ ।


