लघुवित्त वित्तीय संस्थाहरुको मुनाफामा चमक देखिएपनि खराब कर्जा भने निरन्तर बढ्दो क्रममा रहेको देखिएको छ । हाल सञ्चालनमा रहेका ५० लघुवित्तमध्ये अधिकांशको खराब कर्जाको आकार निरन्तर बढी रहेको चालु आर्थिक वर्ष २०८२र८३ को तेस्रो त्रैमाससम्मको वित्तीय विवरणबाट देख्न सकिन्छ ।
नियामक निकाय नेपाल राष्ट्र बैंकले अपनाएको नीतिले लघुवित्त कम्पनीको नाफामा उछाल देखिएको छ । तेस्रो त्रैमाससम्मको अवधिमा माइक्रोफाइनान्स कम्पनीले ७ अर्ब २४ करोड ४८ लाख रुपैयाँ नाफा आर्जन गर्न सफल भएका छन् । लघुवित्तहरुले आर्जन गरेको नाफा गत आर्थिक वर्ष २०८१र८२ को सोही अवधिको तुलनामा ४३ प्रतिशतले बढी हो ।
तर, ५० लघुवित्तमध्ये ४१ कम्पनीको खराब कर्जा भने बढेको देखिएको छ । लघुवित्तहरुको औसत खराब कर्जा ७.२४ प्रतिशत रहेकोमा ४.४७ प्रतिशतले बढेर ११.७२ प्रतिशत पुगेको छ । २९ लघुवित्तको खराब कर्जा १० प्रतिशतभन्दा धेरै रहेको तथ्याङ्कले देखिएको छ ।
यस अवधिमा नौ कम्पनीले मात्रै खराब कर्जा घटाउन सफल भएका छन् । छिमेक लघुवित्तको ०.२८ प्रतिशतले घटेर २.३२ प्रतिशत, फस्र्ट माइक्रोफाइनान्सको ०.४२ प्रतिशतले घटेर ४.३६ प्रतिशत, जीवन विकास लघुवित्तको ०.१७ प्रतिशतले घटेर ४.८० प्रतिशत, अभियान लघुवित्तको १.७० प्रतिशतले घटेर ५.१४ प्रतिशत र मानुषि लघुवित्तको ०.५७ प्रतिशतले घटेर ५.७८ प्रतिशत कायम भएको छ ।
यसैगरी, चालु आवको तेस्रो त्रैमाससम्ममा डिप्रोक्स लघुवित्तको १.१४ प्रतिशतले घटेर ७.५२ प्रतिशत, मातृभुमि लघुवित्तको ०.२९ प्रतिशतले घटेर ९.५५ प्रतिशत, आत्मानिर्भर लघुवित्तको ३.९१ प्रतिशतले घटेर ११.१७ प्रतिशत र नाडेप लघुवित्तको ४.४५ प्रतिशतले घटेर १७.६९ प्रतिशतले खराब कर्जा घटेको देखिएको छ । तीमध्ये छिमेक लघुवित्तका सबैभन्दा कम खराब कर्जा हुने कम्पनी पनि हो ।
त्यस्तै, सपोर्ट लघुवित्तको खराब कर्जा ३.३१ प्रतिशत, गुराँस लघुवित्तको ३.४१ प्रतिशत, आरएसडिसि लघुवित्तको ३.३६ प्रतिशत र साना किसान लघुवित्तको ४.१२ प्रतिशत रहेको छ । नौ महिनाको अवधिमा सर्वाधिक खराब कर्जा हुने कम्पनीमा नेरुडे मिर्मिरे लघुवित्त रहेको छ । कम्पनीको खराब कर्जा ९.६८ प्रतिशतले बढेर २४.४९ प्रतिशत पुगेकोे छ । तथ्यांकअनुसार, इन्फिनीटि लघुवित्तको २३.९३ प्रतिशत, धौलागिरी लघुवित्तको २३.६२ प्रतिशत, जनउत्थान सामुदायिक लघुवित्तको २१.४५ प्रतिशत, नेष्डो समृद्धि लघुवित्तको २१.३४ प्रतिशत र सिवाईसी लघुवित्तको १९.७० प्रतिशत खराब कर्जा रहेको छ ।


