Banijya News

सेयरबजारमा बीमा कम्पनीहरुको लगानी ५६.८७ अर्ब, कसको कति ?

1
1.0K Shares

सेयरबजारमा बीमा कम्पनीहरुले पौने ५७ अर्ब रुपैयाँ बराबरको लगानी गरेका छन् । नेपाल बीमा प्राधिकरणका अनुसार चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा जीवन, निर्जीवन, पुनर्बीमा र लघुबीमा कम्पनीहरुले सूचीकृत पब्लिक कम्पनीको साधारण सेयरमा ५६ अर्ब ८७ करोड ४२ लाख रुपैयाँ बराबरको लगानी गरेका हुन् ।

यो लगानी रकम गत आवको सोही अवधिसम्मको तुलनामा ४०.६७ प्रतिशत बढी हो । गत आवको तेस्रो त्रैमाससम्ममा बीमा कम्पनीहरुले सेयरबजारमा ४० अर्ब ४२ करोड ९६ लाख रुपैयाँ बराबरको लगानी गरेका थिए ।

प्राधिकरणका अनुसार जीवन, निर्जीवन, लघुबीमा र पुनर्बीमा कम्पनीहरुले कुल लगानीको १० प्रतिशत रकम सेयरबजारमा लगानी गर्न पाउने व्यवस्था छ । बीमकको लगानीलाई थप खुकुलो बनाउँदै प्राधिकरणले सूचीकृत पब्लिक कम्पनीको सेयरमा लगानी गर्न पाउने सीमा बढाइदिएको थियो । हाल सूचीकृत पब्लिक कम्पनीको कायम चुक्तापूँजीको १५ प्रतिशतसम्म लगानी गर्न पाउने व्यवस्था रहेको छ । यसअघि बीमा कम्पनीहरुले कायम चुक्तापूँजीको ५ प्रतिशतसम्म मात्रै लगानी गर्न पाउने व्यवस्था थियो ।

सेयरबजारमा लगानी गर्न पाउने सीमाको दायरा बढेपछि बीमा कम्पनीहरुले यो क्षेत्रमा लगानी बढाएका हुन् । तेस्रो त्रैमाससम्म आइपुग्दा अधिकांश बीमा कम्पनीले सेयरबजारमा उल्लेख्य लगानी बढाएका छन् । तेस्रो त्रैमाससम्ममा जीवन बीमा कम्पनीहरुले मात्रै ४६ अर्ब ११ करोड ७७ लाख रुपैयाँ लगानी गरेका छन् । यो लगानी गत आवको सोही अवधिको तुलनामा ३९.४२ प्रतिशत बढी हो । गत आवको तेस्रो त्रैमाससम्म जीवन बीमकहरुले ३३ अर्ब ७ करोड ९२ लाख रुपैयाँ लगानी गरेका थिए ।

हिमालयन लाइफ इन्स्योरेन्सले सबैभन्दा बढी १२ अर्ब ४६ करोड रुपैयाँ लगानी गरेको छ । कम्पनीको लगानी गत आवको तुलनामा १७.२० प्रतिशत बढेको छ । चैत मसान्तसम्ममा सन नेपाल लाइफ र राष्ट्रिय जीवन बीमा कम्पनीको यो क्षेत्रमा लगानी घटेको छ भने बाँकी सबैको उल्लेख्य बढेको छ ।

यसैगरी, सेयरबजारमा निर्जीवन बीमा कम्पनीहरुले पनि १९.७४ प्रतिशतले लगानी बढाएका छन् । गत आवको तेस्रो त्रैमाससम्म सेयरबजारमा ४ अर्ब ५४ करोड ८६ लाख रुपैयाँ बराबरको लगानी रहेकोमा चालु आवको तेस्रो त्रैमाससम्म आइपुग्दा १९.७४ प्रतिशत बढेर ५ अर्ब ४४ करोड ६५ लाख रुपैयाँ पुगेको छ ।

लगानी राष्ट्रिय बीमा कम्पनीले सबैभन्दा बढी ७९ करोड ४१ लाख रुपैयाँ बराबरको सेयरमा लगानी गरेको छ । सो अवधिसम्म सानिमा जिआइसी, शिखर इन्स्योरेन्स र प्रभु इन्स्योरेन्सको यो क्षेत्रको लगानी भने घटेको छ ।

त्यस्तै, लघुबीमा कम्पनीहरुले पनि यो क्षेत्रमा ३८ करोड ८३ लाख रुपैयाँ बराबरको लगानी गरेका छन् । लघुबीमकहरुको यो लगानी रकम गत आवको तुलनामा १२.२६ प्रतिशत बढी हो ।

यसका साथै पुनर्बीमा कम्पनीहरु हिमालयन रि इन्स्योरेन्स र नेपाल रि इन्स्योरेन्सले पनि सेयरबजारमा शतप्रतिशत लगानी बढाएका छन् । दुई रि इन्स्योरेन्स कम्पनीले तेस्रो त्रैमाससम्म ४ अर्ब ९२ करोड १५ लाख रुपैयाँ लगानी गरेको छ । यो रकम गत आवको तुलनामा १००.४१ प्रतिशत बढी हो । गत आवको सोही अवधिमा यी दुई कम्पनीले २ अर्ब ४५ करोड ५७ लाख रुपैयाँ लगानी गरेका थिए ।

1

Scroll to Top