ग्लोबल आइएमई बैंकको कोशी प्रदेशमा कार्यरत कर्मचारी पिताम्बर खड्काले आत्महत्या गरेका छन् । झापा दमक नगरपालिका–८, लक्ष्मीमार्ग टोलका ४२ वर्षीय पिताम्बरले बैंकका हाकिमहरुप्रति औँला ठड्याउँदै आत्महत्या गरेका हुन् ।
इलाका प्रहरी कार्यालय दमकका अनुसार सोमबार साँझ करिब ५ बजे खड्काले आफ्नै घरको भुइँतलाको कोठामा रहेको सिलिङ फ्यानको हुकमा प्लास्टिकको पासो लगाई आत्महत्या गरेका हुन् ।
उनको बुवा महेश खड्काले छोरा झुन्डिएको अवस्थामा फेला परेपछि प्रहरीलाई खबर गरेका थिए । घटनालगत्तै प्रहरी निरीक्षक नवीन राईको कमान्डमा घटनास्थल पुगेको टोलीले शवको मुचुल्का तयार गरी पोस्टमार्टमका लागि दमक अस्पताल पठाएको छ ।
ग्लोबल बैंकको विराटनगर शाखामा कार्यरत खड्काले आत्महत्या गर्नुअघि सामाजिक सञ्जाल फेसबुकमा बैंकका सीईओसहित चार उच्च अधिकारीहरुको सामूहिक तस्वीर सार्वजनिक गरेका थिए । प्रहरीका अनुसार, खड्काले दिपचन्द्र रेग्मी, अनामिका कुँवर सिंह, सुरेन्द्र रेग्मी र सुमन पोखरेलको फोटो फेसबुकमा पोस्ट गर्दै आफू उनीहरूकै कारण आत्मघाती कदम चाल्न बाध्य भएको धारणा उनले फेसबुकमा लेखेका छन् ।
फेसबुकमा उक्त स्टाटस राखेको केही समयपछि उनले आफ्नै घरको भुइँतलाको सिलिङ फ्यानमा पासो लगाएर झुण्डिएको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ ।
प्रहरीले घटनाको वास्तविक कारण र सामाजिक सञ्जालमा गरिएको पोस्टबारे थप अनुसन्धान गरिरहेको छ ।
प्रारम्भिक सोधपुछका क्रममा मृतक खड्का यसअघि बैंकको आन्तरिक कारबाहीमा परेको खुलेको छ ।
प्रहरी नायब उपरीक्षक (डीएसपी) किशोर लम्सालका अनुसार, घटनाको निष्पक्ष अनुसन्धानका लागि मृतक खड्काको मोबाइल नियन्त्रणमा लिइएको छ । मोबाइलको पासवर्ड खोल्ने र प्राविधिक विश्लेषण गर्ने काम भइरहेको छ ।


