Banijya News

सहकारी पीडितमध्ये तिन सय ४ जनाले पाए बचत रकम फिर्ता

1
1.0K Shares

सरकारले समस्याग्रस्त सहकारीमा फसेको सर्वसाधारणको रकम फिर्ता गर्ने क्रमलाई निरन्तरता दिँदै थप ३ सय ४ जना साना बचतकर्ताको पैसा फिर्ता गरेको छ। समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले बचत रकमको आधारमा वर्गीकरण गरी साना बचतकर्तालाई प्राथमिकता दिने नीति अनुरूप यो रकम उपलब्ध गराएको हो।

यस अन्तर्गत बुधबार शिव शिखर बहुउद्देश्यीय सहकारीका २ सय १६ जना र कृषि सहकारीका ८८ जना बचतकर्ताले आफ्नो पैसा फिर्ता पाएका छन्। यसअघि पनि समितिले कान्तिपुर सहकारीका २ सय १५ जना, शिव शिखरकै १ सय ५६ जना र पशुपति सहकारीका ७ जना गरी कुल ३ सय ७८ जनाको रकम फिर्ता गरिसकेको छ।

समितिले बचतकर्ताहरूको रकम सुरक्षित रूपमा फिर्ता गर्न ५ लाख रुपैयाँलाई मुख्य मापदण्ड बनाएको छ। जसअनुसार ५ लाखभन्दा कम जम्मा गर्नेहरूलाई ‘साना बचतकर्ताु’ र सोभन्दा बढी जम्मा गर्नेहरूलाई ‘ठूला बचतकर्ता’ का रूपमा वर्गीकरण गरिएको छ। हाल समस्याग्रस्त घोषित सहकारीहरूबाट करिब ७६ हजार बचतकर्ताको झन्डै ४६ अर्ब रुपैयाँ फिर्ता गर्नुपर्ने ठूलो चुनौती सरकारसामु छ।

कुल बचतकर्तामध्ये ५ लाखभन्दा बढी रकम हुने ठूला बचतकर्ताको संख्या जम्मा १८ हजार मात्र रहेकाले बाँकी अधिकांश साना बचतकर्ता नै हुन्। समितिले पहिलो चरणमा थोरै रकम भएकाहरूलाई प्राथमिकता दिएको र आगामी दिनमा रकमको वर्गीकरणकै आधारमा क्रमशः सबैको बचत फिर्ता गर्दै लैजाने रणनीति लिएको छ।

1

Scroll to Top