Banijya News

१० महिनामा साढे १७ करोड रुपैयाँको चिज आयात, कुन देशबाट कति आयो ?

1
1.0K Shares

नेपाल दुग्धजन्य पदार्थमा आत्मनिर्भर रहेको दाबी गरिन्छ । तर, भन्सार विभागको तथ्यांक हेर्ने हो भने चिजमा परनिर्भरता बढ्दो क्रममा देखिएको छ ।
भन्सार विभागको तथ्यांकअनुसार पछिल्लो १० महिनामा साढे १७ करोड रुपैयाँको चिज आयात भएको छ । चालु आर्थिक वर्ष २०८२/८३ को वैशाख महिनासम्मको तथ्यांक हेर्ने हो भने नेपालले कुल १७ करोड ५३ लाख ४१ हजार रुपैयाँ बराबरको चिज आयात गरेको छ । यस अवधिमा २ लाख ६ हजार ९ सय १७ किलो चिज भित्रिएको छ । यसबाट सरकारले ५ करोड १९ लाख ३३ हजार रुपैयाँ भन्सार महसुल संकलन गरेको छ ।
नेपालमा आयात हुने चिजमध्ये सबैभन्दा धेरै भारतबाट भित्रिने गरेको छ । चालु आवको १० महिनाको अवधिमा भारतबाट मात्रै १२ करोड ५८ लाख ५५ हजार रुपैयाँ बराबरको १ लाख ५९ हजार १६६ किलो चिज आयात भएको छ । भारतबाट विशेष गरी कोरेको, धुलो र अन्य साधारण चिजहरू बढी आउने गरेका छन् ।
यसैगरी, युरोपेली मुलुक फ्रान्सबाट नेपालमा महँगो र प्रोसेस्ड चिज बढी आउने गरेको देखिन्छ । फ्रान्सबाट २ करोड १७ लाख १५ हजार रुपैयाँ बराबरको २० हजार ४०० किलो चिज आयात भएको छ । यसबाट मात्रै सरकारले ६५ लाख रुपैयाँभन्दा बढी राजस्व उठाएको छ ।
इटालीबाट ६ हजार २५४ किलो चिज आयात गर्दा १ करोड ३२ लाख ५६ हजार रुपैयाँ बाहिरिएको छ । यसको प्रति किलो मूल्य औसतमा २,१०० रुपैयाँभन्दा बढी पर्न जान्छ ।
चीनबाट ३३ लाख ४ हजार रुपैयाँको १३ हजार ८८८ किलो चिज भित्रिएको छ । यस्तै, अस्ट्रेलियाबाट २२ लाख ४० हजार रुपैयाँको ५७८ किलो चिज आयात भएको छ ।
यसका साथै जर्मनीबाट २० लाख ९१ हजार, नेदरल्यान्ड्सबाट १६ लाख १७ हजार र डेनमार्कबाट ३ लाख ६८ हजार रुपैयाँ बराबरको चिज आयात भएको तथ्यांक छ ।

1

Scroll to Top