शिक्षा तथा खेलकुद मत्रालयले उच्च शिक्षा शिक्षाका लागि विदेश जानेहरुलाई नवीकरण भएका शैक्षिक परामर्श दातृ संस्थाबाट मात्रै परामर्श सेवा लिन आग्रह गरेको छ । मन्त्रालयले आर्थिक वर्ष २०८२/८३ का लागि नवीकरण भएका शैक्षिक परामर्श दातृ संस्थाहरूको नामावली प्रकाशन गर्दै ती सेवा लिनका लागि आग्रह गरेको हो ।
स्वीकृतिप्राप्त संस्थाहरूको सूची मन्त्रालयका सचिव चूडामणि पौडलको यही जेठ ६ गतेको निर्णयअनुसार प्रकाशन गरिएको हो । मन्त्रालयको वेबसाइटमा सार्वजनिक सूचीमा एक हजार ४५९ संस्थाहरू समावेश छन् ।
सरकारले ‘शैक्षिक परामर्श सेवा तथा भाषा शिक्षणसम्बन्धी निर्देशिका, २०७३’ बमोजिम अनुमति नलिएका, विद्यार्थीलाई झुटो कागज र आश्वासन दिएर आर्थिक ठगी गरेका संस्थाहरूलाई सरकारको कारबाही अभियान सुरु गरेको छ । यही जेठ १ गते काठमाडौँ उपत्यकाका अवैध तथा शङ्कास्पद संस्थाहरूमा छापा मारेर पक्राउ पारिएकामध्ये ३२ जनालाई नेपाल प्रहरीले कारबाहीका लागि मुद्दा दायरको तयारी गरेको छ ।
वैदेशिक अध्ययनका क्रममा झुठो विवरण देखाइ कारोबार गर्ने, सरकारी निकायका छाप–लेटर प्याड अनधिकृतरूपमा बनाइ प्रयोग गर्ने, बिना दर्ता सञ्चालन भएकाजस्ता प्रकृतिका विकृतिप्रति निर्मम भएर कानुनी कारबाही अघि बढाइएको हो ।
शैक्षिक परामर्श क्षेत्रमा शुद्धीकरणका लागि शिक्षा मन्त्रालय र प्रहरीको सहकार्यमा देशभर अभियान सञ्चालन गर्ने जनाएको छ । नेपाल शैक्षिक परामर्श व्यवसायी महासङ्घले शुद्धीकरणको अभियानमा आफूहरूको साथ रहने तर सबै व्यवसायीलाई त्रसित नबनाउन आग्रह गर्दै आएको छ ।
दर्ता नभएका, नवीकरण नगरेका तथा शैक्षिक परामर्शको आवरणमा म्यानपावरसम्बन्धी कामसमेत गर्दै आएका संस्थाहरू अनुसन्धानको दायरामा परेका छन् । विद्यार्थीबाट प्राप्त उजुरी र प्रारम्भिक प्रमाणका आधारमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयसँग समन्वय गरी छानबिन सुरु गरिएको हो । प्रहरीका अनुसार काठमाडौं उपत्यकामा मात्रै करिब दुई हजार कन्सल्टेन्सी दर्ताविनै सञ्चालनमा रहेको अनुमान छ ।


