Banijya News

उदयपुर सिमेन्टका मजदुर आन्दोलित, १४ महिनादेखि तलब नपाएको गुनासो

1
1.0K Shares

समस्या झेल्दै पटक–पटक बन्द हुँदै खुल्ने गरेको उदयपुर सिमेन्ट उद्योग बन्द भएको लामो समय भइसकेको छ । विगत ६ वर्षयता विस्तारै धरासायी हुँदै गएको उद्योग करिब एक वर्षयता चल्नै छाडेको थियो । उद्योग बन्द भएपछि कर्मचारी तथा मजदुरले तलब पाउन सकेका छैनन् ।

बन्द अवस्थामा रहेको उदयपुर सिमेन्ट उद्योगका मजदुर तथा कर्मचारी अहिले आन्दोलनमा उत्रिएका छन्‌ । विगत १४ महिनादेखि तलब–भत्ता नपाएपछि दैनिक गुजारा चलाउनै कठिन भएको भन्दै उनीहरूले शुक्रबारबाट उद्योगको मुख्य प्रवेशद्वारमा धर्ना दिँदै आन्दोलन सुरु गरेका हुन्‌ ।

उद्योगमा कार्यरत मजदुर तथा कर्मचारीहरुले तत्काल तलब, सञ्चयकोष, नागरिक लगानी कोष, बीमा तथा अन्य रोकिएका सेवा–सुविधा उपलब्ध गराउन माग गर्दै आन्दोलनको घोषणा गरेका हुन्‌ ।

सम्पूर्ण मजदुर संघर्ष समितिका संयोजक देवेन्द्र झाका अनुसार उद्योग बन्द भएसँगै मजदुरको दैनिकी संकटपूर्ण बनेको छ । १४ महिनादेखि तलब नपाउँदा परिवार चलाउनसमेत धौ–धौ परेको छ । बच्चाको पढाइ, औषधि उपचार र दैनिक खर्च धान्नै समस्या भएर बाँच्नै नसक्ने अवस्था आएकाले आफूहरु आन्दोलनमा उत्रिनु परेको झाको भनाइ छ ।

उद्योगमा कार्यरत मजदुरहरु उद्योग सञ्चालन नभएपछि तलब पनि नहुने भएकाले बाध्य भएर आन्दोलन गर्नुपरेको बताउँछन् । उद्योगमा जीवन बिताएका कतिपय श्रमिकहरुको आफूले पाउनुपर्ने सेवा–सुविधासमेत नपाई निधनसमेत भइसकेको छ । तर, उनीहरुका परिवारले अझै सुविधा पाउन सकेका छैनन् । अझ कहिले पाउँछन् भन्ने अवस्था पनि छैन ।

अर्कोतिर, तलबबाट कट्टा गरिएको सञ्चयकोष, नागरिक लगानी कोष तथा तीन वर्षदेखिको बिमा रकमसमेत नियमित जम्मा गरिएको छैन । आफूले कानुनअनुसार पाउनुपर्ने सेवा–सुविधा नपाएर घरमा बिजोग भएको उनीहरुको गुनासो छ ।

तर, उद्योगका निमित्त महाप्रबन्धक कोबिदकुमार काफ्लेका अनुसार उद्योगले हाल तिर्नुपर्ने दायित्व रकम पाँच अर्ब २९ करोड २४ लाख १३ हजार दुई सय ८२ छ ।

गत वैशाख ११ गतेसम्मको कार्यरत कर्मचारीको (०८१ चैतदेखि ०८२ चैतसम्मको तलब) बाँकी दायित्व, कर्मचारीको दाखिला गर्न बाँकी सञ्चयकोष रकम, नागरिक लगानी कोषको रकम, उद्योग सञ्चालन भएको अवस्थामा अतिरिक्त कार्यसमय लगाई सोबापतको अतिरिक्त कार्यसमय भत्ता दाखिला गर्न बाँकी छ । यस्तै, कर्मचारीको दाखिला गर्न बाँकी तीन वर्षको बिमा रकम, बिदा मुआब्जाबापत बाँकी रकम, ०८० र ०८१ को सट्टा बिदाबापतको रकम, ०८२ साउनदेखि ०८२ चैतसम्मको महँगी भत्ता, गोरखाली योद्धा सेक्युरिटी प्रालिलाई ०८१ चैतदेखि ०८२ चैतसम्मको रकम र अवकाशप्राप्त कर्मचारीको दायित्व रकम बाँकी छ । यी सबै जोड्ने हो भने कुल एक अर्ब चार करोड २४ लाख १३ हजार दुई सय ८२ रुपैयाँ ६१ पैसा तिर्न बाँकी रहेको उद्योगले जनाएको छ ।

त्यस्तै, अन्य तिर्न बाँकी रहेको सप्लायर्सको ७५ करोड र सरकारलाई तिर्नुपर्ने भ्याट, विद्युत्‌को शुल्क, अन्तःशुल्क, स्थानीय रोयल्टीलगायतको झन्डै तीन अर्ब ५० करोडभन्दा बढी रहेको छ ।

1

Scroll to Top