Banijya News

आईपीओको तयारीमा रहेको अग्नि सिमेन्टः कस्तो कम्पनी हो ?

1
1.0K Shares

प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ)मार्फत सर्वसाधारणको लगानी भित्र्याउने तयारीमा रहेको अग्नि सिमेन्ट इन्डष्ट्रिजको व्यापारमा केही सुधार देखिएको छ । सन् २०२४ को तुलनामा सन् २०२५ मा व्यापार ४६ प्रतिशतले बढेको देखिए पनि नाफा, नगद प्रवाह, ऋण संरचना र कच्चा पदार्थमा निर्भरताजस्ता सूचकहरूले कम्पनीको दीर्घकालीन जोखिम अझै उच्च रहेको संकेत गरेको छ ।

सन् २०२४ मा ३९ करोड ८० लाख रुपैयाँको व्यापार गरेको कम्पनीले सन् २०२५ मा ५८ करोड ९० लाख रुपैयाँको कारोबार गरेको छ । व्यापार बढेको देखिए पनि यो वृद्धि स्थायी र सन्तुलित नभई बजारको अस्थिर माग र लागत संरचनामा निर्भर रहेको देखिन्छ । सन् २०२३ मा कम्पनीको व्यापार ६७ करोड रुपैयाँ रहेको थियो ।

गत आर्थिक वर्षमा कम्पनीले २ करोड रुपैयाँ मात्रै नाफा आर्जन गरेको छ, जुन व्यापारको तुलनामा अत्यन्तै कमजोर नाफा दर हो । सन् २०२४ मा भने कम्पनीले ४ करोड ९० लाख रुपैयाँ नाफा कमाएको थियो । व्यापार बढ्दा पनि नाफा झण्डै आधा घट्नुले कम्पनीको लागत व्यवस्थापन कमजोर रहेको प्रष्ट हुन्छ ।

यसैगरी, कम्पनीसँग कुल नगद सञ्चय १ करोड ८० लाख रुपैयाँ मात्र रहेको छ । जुन सन् २०२४ को २ करोड १० लाख रुपैयाँको तुलनामा घटेको अवस्था हो । नगद सञ्चय घट्दै जानुले कम्पनीको दैनिक सञ्चालन क्षमता र आकस्मिक खर्च धान्ने सामर्थ्य कमजोर हुँदै गएको देखिन्छ ।

त्यस्तै, कम्पनीको संरचनागत कमजोरीमध्ये सबैभन्दा ठूलो चुनौती कच्चा पदार्थमा अत्यधिक निर्भरता हो । ग्राइन्डिङ उद्योगको रूपमा सञ्चालन भइरहेको कम्पनीले आवश्यक क्लिङ्कर अन्य सिमेन्ट उत्पादक कम्पनीहरूबाट खरिद गर्दै आएको छ । कच्चा पदार्थको लागत नै कम्पनीको सबैभन्दा ठूलो खर्च भएको तथ्यले यसको जोखिम अझ उच्च रहेको छ ।

सन् २००७ मा स्थापना भएको यो कम्पनी सन् २०२२ मा पब्लिक कम्पनीमा रूपान्तरण भएको हो । छोटो समयमै सार्वजनिक कम्पनी बनेको भए पनि यसको वित्तीय संरचना अझै परिपक्व बन्न सकेको छैन । उत्पादन क्षमताको हिसाबले कम्पनीले दैनिक ९ सय मेट्रिक टन क्षमतामा पीपीसी र ओपीसी सिमेन्ट उत्पादन गर्दै आएको छ । यसअघि सन् २००९ देखि ६ सय मेट्रिक टन क्षमतामा सञ्चालन हुँदै आएको उद्योगलाई सन् २०१८ पछि विस्तार गरी ९ सय मेट्रिक टनमा पुर्‍याइएको हो । कम्पनीले अग्नि, ओरियन्ट र त्रिवेणी ब्रान्डमार्फत पीपीसी सिमेन्ट र अल्फा ब्रान्डमार्फत ओपीसी सिमेन्ट बिक्री वितरण गर्दै आएको छ ।

1

Scroll to Top