नेपालको निर्जीवन बीमा बजारले चालु आर्थिक वर्ष २०८२/८३ को वैशाख मसान्तसम्ममा उत्साहजनक प्रगति गरेको छ । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको पछिल्लो वित्तीय विवरण अनुसार, सञ्चालनमा रहेका १४ निर्जीवन बीमा कम्पनी र ४ लघु निर्जीवन बीमा कम्पनीहरूले वैशाख मसान्तसम्ममा कुल ४१ अर्ब ३९ करोड ५९ लाख रुपैयाँ बीमा शुल्क संकलन गरेका छन् ।
प्राधिकरणका अनुसार, वैशाख महिनामा मात्रै निर्जीवन बीमा कम्पनीहरूले ४ अर्ब १२ करोड ७८ लाख रुपैयाँ बराबरको व्यापार गरेका छन् । यस अवधिमा कुल २८ लाख ३० हजार ६५२ वटा बीमा लेख जारी भएका छन् । जसमा वैशाख महिनामा मात्र २ लाख ८६ हजार १६२ वटा नयाँ बीमा लेख जारी भएका हुन् ।
निर्जीवन बीमा कम्पनीहरूमध्ये शिखर इन्स्योरेन्सले वैशाख मसान्तसम्ममा ५ अर्ब १९ करोड २२ लाख रुपैयाँ कुल बीमा शुल्क संकलन गर्दै पहिलो स्थान ओगटेको छ । शिखरले यस अवधिमा २ लाख ६८ हजारभन्दा बढी बीमा लेख जारी गरेको छ । दोस्रो स्थानमा हिमालयन एभरेस्ट इन्स्योरेन्स रहेको छ, जसले ४ अर्ब ३७ करोड ७९ लाख रुपैयाँ बीमा शुल्क संकलन गरेको छ । त्यस्तै, सगरमाथा लुम्बिनी इन्स्योरेन्स (सलिको) ४ अर्ब २५ करोड ८६ लाख रुपैयाँसहित तेस्रो स्थानमा छ । अन्य प्रमुख कम्पनीहरूमध्ये आईजीआई प्रुडेन्सियलले ३ अर्ब ५१ करोड र सिद्धार्थ प्रिमियरले ३ अर्ब ४९ करोड रुपैयाँको व्यवसाय गरेका छन् । सरकारी स्वामित्वको राष्ट्रिय बीमा कम्पनीले १ अर्ब १८ करोड ८५ लाख रुपैयाँ बीमा शुल्क संकलन गरेको छ ।
प्रदेशको आधारमा हेर्ने हो भने बीमा व्यवसायको पकड सबैभन्दा धेरै बागमती प्रदेशको रहेको छ । बागमती प्रदेशबाट मात्रै २८ अर्ब ३७ करोड ६७ लाख रुपैयाँ बीमा शुल्क संकलन भएको छ । जुन कुल व्यवसायको करिब ६८.५ प्रतिशत हो । काठमाडौँ उपत्यकासहितका प्रमुख आर्थिक केन्द्रहरू बाग्मती प्रदेशमा रहेकाले यहाँको व्यवसाय उच्च देखिएको हो । बाग्मतीपछि कोशी प्रदेशले ३ अर्ब ५३ करोड ५९ लाख र लुम्बिनी प्रदेशले ३ अर्ब ४७ करोड ६० लाख रुपैयाँ बीमा शुल्क संकलन गरेका छन् ।
प्राधिकरणको अनुसार, सबैभन्दा न्यून व्यवसाय कर्णाली प्रदेशमा देखिएको छ, जहाँ ४ करोड ३ लाख रुपैयाँ मात्र बीमा शुल्क संकलन भएको छ । मधेस प्रदेशमा २ अर्ब ६१ करोड र गण्डकी प्रदेशमा २ अर्ब १ करोड रुपैयाँको व्यवसाय भएको छ । सुदूरपश्चिम प्रदेशबाट ९८ करोड रुपैयाँ बीमा शुल्क संकलन भएको छ ।
निर्जीवन बीमामध्ये मोटर बीमा सबैभन्दा बढी लोकप्रिय र व्यावसायिक देखिएको छ । वैशाख मसान्तसम्म मोटर बीमाबाट मात्रै १२ अर्ब ६३ करोड ५१ लाख रुपैयाँ संकलन भएको छ । त्यसैगरी, सम्पत्ति बीमा दोस्रो स्थानमा छ, जसबाट ९ अर्ब ७३ करोड ७ लाख रुपैयाँ संकलन भएको छ । विकास निर्माण र ठेक्कापट्टाको कामसँग सम्बन्धित इन्जिनियरिङ तथा ठेक्का जोखिम बीमाबाट ७ अर्ब ८७ करोड ७० लाख रुपैयाँ संकलन भएको छ ।
यस्तै, सामुद्रिक बीमाबाट २ अर्ब ५२ करोड, हवाई बीमाबाट १ अर्ब ८९ करोड र कृषि तथा बाली बीमाबाट १ अर्ब ३६ करोड रुपैयाँ संकलन भएको छ । विविध बीमा शीर्षक अन्तर्गत ४ अर्ब २५ करोड ३२ लाख रुपैयाँ संकलन भएको देखिन्छ ।
सर्वसाधारण र न्यून आय भएका वर्गसम्म बीमाको पहुँच पुर्याउने उद्देश्यले स्थापित चार वटा लघु बीमा कम्पनीहरूले पनि बजारमा आफ्नो उपस्थिति बलियो बनाउँदै लगेका छन् । वैशाख मसान्तसम्म नेपाल माइक्रो, प्रोटेक्टिभ माइक्रो, स्टार माइक्रो र ट्रस्ट माइक्रो इन्स्योरेन्सले कुल १ अर्ब १० करोड १ लाख रुपैयाँ बीमा शुल्क संकलन गरेका छन् । लघु बिमनहरूमध्ये प्रोटेक्टिभ माइक्रोले ३१ करोड ११ लाख र नेपाल माइक्रोले २७ करोड ३५ लाख रुपैयाँको व्यवसाय गरेका छन् । लघु बीमाअन्तर्गत मात्रै ४ लाख १८ हजार ९९० वटा बीमा लेख जारी भएका छन् । नेपाल बीमा प्राधिकरणको यो तथ्यांकले निर्जीवन बीमा क्षेत्रमा क्रमिक सुधार भइरहेको संकेत गर्दछ ।


