चालु आर्थिक वर्ष २०८२।०८३ को १० महिनासम्म आइपुग्दा बीमा कम्पनी (जीवन र निर्जीवन) हरुले ५८ अर्ब रुपैयाँ हाराहारीमा दाबी भुक्तानी गरेका छन् । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको चालू आर्थिक वर्षको चैतसम्मको तथ्यांकअनुसार बीमा कम्पनीबाट ५७ अर्ब ९७ करोड ५० लाख रुपैयाँ बढी बीमा दाबी भुक्तानी भएको छ ।
बीमा दाबी भुक्तानी अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा भने १४.१५ प्रतिशतले कम हो । बीमा कम्पनीहरुले अघिल्लो वर्षको बैशाख मसान्तसम्ममा ६७ अर्ब ५३ करोड २७ लाख रुपैयाँ दाबी भुक्तानी गरेका थिए ।
चालू आर्थिक वर्षको १० महिनाको अवधिमा जीवन बीमा कम्पनीबाट १ लाख ५९ हजार ३०२ वटा दाबीको ३४ अर्ब ६१ करोड ३२ लाख रुपैयाँ भुक्तानी भएको छ । अघिल्लो वर्ष सोही अवधिसम्म जीवन बीमा कम्पनीहरुले २ लाख १८ हजार ९५१ वटा दाबीको ४८ अर्ब ९५ करोड ४२ लाख रुपैयाँ भुक्तानी गरेका थिए ।
समिक्षा अवधिमा निर्जीवन बीमकले १ लाख २५ हजार ७८२ वटा दाबीको २३ अर्ब ३६ करोड १७ लाख रुपैयाँ भुक्तानी गरेका छन् । उक्त भुक्तानी गत वर्षको सोही अवधिसम्म १ लाख १३ हजार ९३७३ वटा दाबीको १८ अर्ब ५७ करोड ८५ लाख गरेका थिए ।
चालु आर्थिक वर्षको १० त्रैमाससम्मका बीमा कम्पनीहरुले अझै ५१ अर्ब १४ करोड ३९ लाख रुपैयाँ दाबी भुक्तानी गर्ने बाँकी रहेको देखिएको छ । बीमा कम्पनीहरुले अझै १ लाख ७८ हजार ६० दाबी भुक्तानी गर्ने बाँकी रहेको हो ।
यसअवधिसम्ममा जीवन बीमा कम्पनीहरुले ६१ हजार ६४९ वटा दाबीको ५ अर्ब ५२ करोड ४१ जार रुपैयाँ भुक्तानी गर्ने बाँकी रहेको हो । गत आर्थिक वर्षको सोही अवधिमा ५३ हजार ४८१ दाबी संख्याको ४ अर्ब ४५ करोड १५ लाख रुपैयाँ दाबी भुक्तानी गर्ने बाँकी रहेको थियो ।
त्यस्तै, चालु आर्थिक वर्षको बैशाख मसान्तसम्ममा निर्जीवन बीमा कम्पनीहरुबाट १ लाख १६ हजार ४४१ दाबी संख्या बापतको ४५ अर्ब ६१ करोड ९८ लाख रुपैयाँ भुक्तानी गर्ने बाँकी रहेको छ ।


