हिमालयन रि–इन्स्योरेन्ससँग सम्बन्धित इन्स्योरेन्स कम्पनीहरुबाट ४ अर्ब भन्दा बढी रकम अपचलन भएको देखिएको छ । हिमालयन रि–इन्स्योरेन्स सम्बन्धमा गरेको अनुसन्धानका क्रममा विभिन्न पाँच बीमा कम्पनीहरुबाट यति ठूलो रकम अपचलन भएको निष्कर्ष निकाल्दै प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले ४० जनाभन्दा धेरै व्यक्तिहरुलाई प्रतिवादी बनाउँदै यसै साता जिल्ला अदालत काठमाडौंमा बीमा कसुरमा मुद्दा दर्ता गर्न लागेको बुझिएको छ ।
सीआईबीले दीपक भट्ट र शंकर ग्रुपका सञ्चालक सुलभ अग्रवाल समेतका प्रतिवादीहरूमाथि अनुसन्धान सकेर जिल्ला सरकारी वकिल कार्यालयमा प्रतिवेदन बुझाएको थियो । सोही प्रतिवेदनको आधारमा जिल्ला सरकारी वकिलको कार्यालयले बिमा कसुरमा ४० जनाविरुद्ध मुद्दा दर्ता गर्ने भएको हो ।
प्रहरीले हिमालयन रि–इन्स्योरेन्सका तत्कालीन अध्यक्ष शेखर गोल्छा, जावलाखेल डिस्टिलरीका सञ्चालक राजबहादुर शाह, हिमालयन रि–इन्स्योरेन्सका तत्कालीन सञ्चालकहरू अमित मोर, राजीव मोर, शुभेच्छा खरेल, सुभाषकुमार झुनझुनवाल र मनीष कुमार तथा सीईओ उपासना पौडेललाई प्रतिवादी बनाएर अभियोग दायर गर्न सीआईबीले राय दिएको छ । अर्का व्यवसायी ऋषिराज मोरलाई पनि प्रतिवादी कायम गर्नुपर्ने सीआईबीको राय छ । जसमा अधिकांशले आफूहरुलाई यस विषयमा अनुसन्धानमा मात्रै जानकारी पाएको जिकिर गरेका छन् ।
यसअघि, सीआईबीले हिमालयन रि–इन्स्योरेन्ससहितका बीमा कम्पनीमा अर्बौंको घोटाला प्रकरणमा जिल्ला सरकारी वकिलको कार्यालयलाई अनुसन्धान प्रतिवेदन बुझाइसकेको छ । सीआईबीले सरकारी वकिलको कार्यालयलाई प्रतिवेदन बुझाउँदै सुलभ अग्रवाल, दीपक भट्ट लगायतमाथि मुद्दा चलाउन सिफारिस गरेको थियो । सीआईबीको उक्त प्रतिवेदनपछि जिल्ला अदालतमा यो साता मुद्दा दर्ता गर्न लागिएको हो ।


