राज्यको स्वामित्वमा रहेको उदयपुर सिमेन्ट उद्योग आर्थिक संकटमा फसेको छ। प्याकिङ गर्नका लागि बोरा किन्न नसक्दा उत्पादन भइसकेको करोडौँ रुपैयाँबराबरको सिमेन्ट गोदाममै थन्किएको छ। उदयपुर सिमेन्ट उद्योगमा ‘प्याकिङ बोरा’ अभाव हुँदा करिब साढे ६ करोड रुपैयाँबराबरको सिमेन्ट अलपत्र परेको हो।
देशकै पुरानो तथा सरकारी स्वामित्वको उद्योगमध्ये एक मानिने उदयपुर सिमेन्ट उद्योग अहिले आर्थिक संकट, व्यवस्थापकीय कमजोरी र श्रमिक समस्याले थलिएको अवस्थामा पुगेको हो। उद्योगका अनुसार हाल उद्योगमा करिब ८२ हजार बोराबराबरको सिमेन्ट मौज्दात छ। त्यसमध्ये करिब ५० हजार बोरा तयारी सिमेन्ट गोदाममै थन्किएको छ। थप २७ हजार बोरा उत्पादन गर्न पुग्ने क्लिन्कर मौज्दात अवस्थामा रहेको जनाइएको छ। उत्पादन भएर तयार भइसकेको सिमेन्ट बजार पठाउन नसक्दा उद्योगको आर्थिक अवस्था झन् कमजोर बन्दै गएको छ।
उद्योग प्रशासनले प्याकिङका लागि आवश्यक बोरा खरिद गर्नसमेत रकम अभाव भएको जनाएको छ। उद्योग प्रशासन प्रमुख गम्भीरजंग खत्रीका अनुसार प्रतिबोरा ७७५ रुपैयाँका दरले हिसाब गर्दा हाल थन्किएको सिमेन्टको मूल्य करिब ६ करोड ३५ लाख रुपैयाँ हुन्छ। उनका अनुसार उद्योग प्राविधिक कारणले नभई आर्थिक अभावका कारण बन्द अवस्थामा पुगेको हो।
यता उत्पादन विभागले पटक-पटक बोरा व्यवस्थापन गर्न आग्रह गरे पनि प्रशासनबाट प्रभावकारी पहल नभएको गुनासो गरेको छ। समयमै प्याकिङ र व्यवस्थापन हुन नसक्दा प्याकिङ हाउसमा छरिएको झन्डै पाँच हजार बोराबराबरको सिमेन्ट पूर्ण रूपमा नष्ट भएको उद्योगको भनाइ छ।
उद्योगमा कार्यरत कर्मचारी तथा मजदुरले करिब १५ महिनादेखि तलबभत्ता नपाएको गुनासो गरेका छन्। दैनिक जीवन सञ्चालन गर्न कठिन भएपछि उनीहरू आन्दोलनमा उत्रिएका छन्। आर्थिक संकट, मर्मत अभाव, श्रमिक आन्दोलन र कमजोर व्यवस्थापनका कारण उद्योग पूर्ण रूपमा बन्द अवस्थामा पुगेपछि यसको भविष्यलाई लिएर स्थानीय बासिन्दा तथा सरोकारवालाले चिन्ता व्यक्त गरेका छन्।


