Banijya News

कहिले उठ्ला सडकबत्तीको ९ अर्ब ९३ करोड बक्यौता, काठमाडौं महानगरको मात्रै २ अर्ब !

1
1.1K Shares

सडकबत्ती प्रयोग गरेवापत विद्युत् महसुल तिर्न बाँकी रहेका ३५५ स्थानीय तहलाई सरकारले बक्यौता बुझाउन निर्देशन दिएको छ । ऊर्जा मन्त्रालयले सडकबत्ती वापत ९ अर्ब ९३ करोड ५९ लाख ४३ हजार तिर्न बाँकी रहेको विवरण सार्वजनिक गरेको छ ।

मन्त्रालयका अनुसार, आर्थिक वर्ष २०८१/८२ को असार मसान्तसम्म विभिन्न स्थानीय सरकारले नबुझाएको कुल ७ अर्ब ९४ करोड ८७ लाख ५४ हजार ८०६ रुपैयाँ र २५ प्रतिशत थप दस्तुरसहित कुल ९ अर्ब ९३ करोड ५९ लाख ४३ हजार ५१७ रुपैयाँ बक्यौता रहेको छ ।

ऊर्जामन्त्री विराजभक्त श्रेष्ठले सडकबत्तीसहितको बक्यौता महसुल उठाउन मातहतका निकायलाई निर्देशन दिएपछि प्राधिकरण र स्थानीय तह फेरि आमने–सामने हुने भएका छन्‌ । प्राधिकरणले हिसाब निकालेर विद्युत् महसुल तिर्नुपर्छ भन्दै आएको छ । तर, स्थानीय तहहरूले भने सडकबत्ती नागरिकका लागि बालिएकाले त्यसको महसुल नलाग्ने दाबी गर्दै आएका छन्‌ । सार्वजनिक हितका लागि प्रयोग भएको बिजुलीको बिल पालिकाले तिर्नुपर्ने भए पालिकाको जमिनमा गाडिएका बिजुलीका पोलको पैसा पनि प्राधिकरणले स्थानीय सरकारहरूलाई तिर्नुपर्ने उनीहरूको तर्क छ । प्राधिकरण र स्थानीय सरकारबीच यो जुहारी वर्षौंदेखि चल्दै आएको छ ।

विद्युतु महसुल बक्यौता भएका स्थानीय तहमध्ये सबैभन्दा धेरै काठमाडौं महानगरपालिकाले तिर्नुपर्ने देखिन्छ । काठमाडौं महानगरको मात्र १ अर्ब ९८ करोड बक्यौता रहेको छ, जुन थप दस्तुरबाहेकको हो । प्रधानमन्त्री बालेन शाह महानगर प्रमुख हुँदा नेपाल विद्युत् प्राधिकरणका तत्कालीन कार्यकारी निर्देशक कुलमान घिसिङ र शाहबीच बक्यौताको विषयमा मतभेद रहेको थियो ।

ऊर्जामन्त्री श्रेष्ठले विद्युत् महसुल बक्यौता असुली प्रक्रियालाई प्राधिकरणले प्राथमिकताका साथ आफ्नो दैनिक कार्यसूचीमा राखेर अगाडि बढाउन निर्देशन दिएका छन्‌ । सडकबत्तीसहित डेडिकेटेड फिडर र ट्रंकलाइनबापतको, इन्टरनेट सेवा प्रदायक तथा औद्योगिक क्षेत्रलगायत सबैको बक्यौता असुली गर्नुपर्ने उनको भनाइ छ ।

विद्युत् महसुल बक्यौताका विषयमा विगतमा धेरै अध्ययन, छानबिन र निर्णयहरू भइसकेका छन्‌ । यसमा थप निर्णयको आवश्यकता नभएकाले ऐन–नियम र प्रक्रिया के–के छन्, त्यहीअनुसार गर्न ऊर्जामन्त्री श्रेष्ठले निर्देशन दिएका छन् । प्राधिकरणको उच्च व्यवस्थापनले बक्यौता असुलीमा मन्त्रालयको निर्देशन कुर्नुभन्दा आफ्नो संयन्त्र परिचालन गर्नेतर्फ ध्यान दिनुपर्ने उनको भनाइ छ ।

प्राधिकरणका अनुसार असुल गर्नुपर्ने यो बक्यौता ०७२/७३ देखि ०८२ असारसम्मको हो । त्यसयता झन्डै एक वर्षमा जरिवाना बढेकाले असुल हुनुपर्ने रकम अझै बढेको प्राधिकरणको दाबी छ । पालिकाले प्रयोग गरेको बिजुलीमध्ये अधिकांश गैरमिटरमा आधारित हो । मिटर राख्न छुट्टै तार जडान गरिएको हुन्छ, तर सबै सडकबत्तीमा मिटर राख्न सम्भव हुँदैन । त्यसैले, तोकिएको प्राविधिक सूत्र प्रयोग गरेर सडकबत्तीमा खपत भएको परिमाण निकालिएको प्राधिकरणले जनाएको छ ।

०७२/७३ सम्म सरकारले यस्तो बक्यौता मिलान गर्ने निर्णय गरेको थियो । त्यसपछि भने मिटर राखेको ठाउँमा महसुल नियमित रूपमै भुक्तानी भएको छ । मिटर नभएको ठाउँबाट भने असुल हुन बाँकी छ । कतिपय अवस्थामा मिटर राखेकाले पनि बक्यौता नतिरेको, तर मिटर राखेर पैसा नतिर्नेहरूको हिस्सा अत्यन्तै न्यून भएको प्राधिकरणले जनाएको छ ।

पटक–पटक ताकेता गर्दा पनि पालिकाबाट सडकबत्तीको महसुल प्राप्त हु्‌न सकेको छैन । साथै, खपत भएको बिजुलीको संयुक्त रूपमा प्रमाणीकरण गर्न चाहे पनि हुन नसकेको प्राधिकरणको तर्क छ । प्राधिकरणका अनुसार, एकपटकका लागि यो बक्यौता सरकारले नै मिलान गर्नुपर्ने र त्यसपछि भने नियमित रूपमै महसुल उठाउनुपर्छ ।

प्राधिकरणको तथ्यांकअनुसार काठमाडौं महानगरको मात्रै एक अर्ब ९८ करोड ६३ लाख ७१ हजार बक्यौता छ । मुख्यतः खपत भएको बिजुलीको प्रमाणीकरण हुन नसक्दा यो बक्यौता असुल हुन सकेको छैन । हालका प्रधानमन्त्री बालेन्द्र शाह काठमाडौं महानगरको मेयर हुँदा खपत भएको बिजुली प्रमाणीकरण गर्न खोजेका थिए । तर, पछि त्यो प्रक्रिया अघि नबढेको प्राधिकरणले जनाएको छ ।

काठमाडौं महानगरका प्रवक्ता नवीन मानन्धरले प्राधिकरणसँग प्राविधिक विषयमा सहमति जुट्न नसकेको बताए । मिटर नभएको स्वीकार गरेको महानगरले पहिला ५०० र १००० वाटको बिजुली बाल्ने गरे पनि नौ वर्षयता १०० वाट र ५० वाटको एलइडी बाल्दै आएकाले एलईी बिजुली बालेको आधारमा बिल गर्न माग गरेको छ । तर, प्राधिकरणले भने नौ वर्षअघिकै जसरी ५०० र १००० वाटको बिजुली बालेको भनेर पैसा पठाउँदै आएकोमा महानगरले विमति जनाएको छ । सहमति भएको अवस्थामा आफूले बिल तिर्ने महानगरको भनाइ छ ।

1

Scroll to Top