नयाँ दिल्लीस्थित इन्द्रप्रस्थ अपोलो हस्पिटल र प्रभु बैंक लिमिटेडबीच बैंकका ग्राहक तथा कर्मचारीहरूलाई उपचार सेवामा विशेष छुट दिने सम्झौता भएको छ। बबरमहल, काठमाडौँमा मुख्य कार्यालय रहेको प्रभु बैंक र अपोलो हस्पिटलबीच भएको यो सम्झौता आगामी २८ मे २०२८ सम्म दुई वर्षका लागि लागू हुनेछ।
सम्झौता अनुसार प्रभु बैंकका कर्मचारी, मोबाइल बैंकिङ प्रयोगकर्ता, तथा डेबिट र क्रेडिट कार्डवाहकहरूले अपोलो हस्पिटलमा उपचार गराउँदा १० प्रतिशत छुट पाउनेछन्। अस्पतालमा भर्ना हुने बिरामीको हकमा औषधि र उपभोग्य सामग्री बाहेक तथा ओपिडी (भर्ना नभई) उपचार गराउनेहरूका लागि औषधि र परामर्श शुल्क बाहेकका अन्य सबै सेवामा यो छुट उपलब्ध हुनेछ।
उक्त द्विपक्षीय सम्झौतापत्रमा अपोलो हस्पिटलका तर्फबाट डेपुटी म्यानेजर विपिन शर्मा र प्रभु बैंकका तर्फबाट चिफ मार्केटिङ अफिसर दिपेन्द्र बाबु विष्टले संयुक्त रूपमा हस्ताक्षर गरेका छन । प्रभु बैंकले हाल देशैभर रहेका ३०० शाखा, २६२ एटीएम र ६६ एक्सटेन्सन काउन्टरमार्फत ३६ लाखभन्दा बढी ग्राहकहरूलाई आधुनिक बैंकिङ सेवा प्रदान गर्दै आएको छ।


