आन्तरिक राजस्व कार्यालय त्रिपुरेश्वर र तुलसीपुरले तोकिएको अवधिभित्र कागजात पेश नगरे उपलब्ध तथ्य तथा सूचनाका आधारमा एकतर्फी रूपमा कर निर्धारण गरिने जनाएका छन् । राजस्व कार्यालयले आर्थिक वर्ष २०७८/७९ को कारोबारसम्बन्धी कर परीक्षणका लागि छनोट भएका आठ कम्पनीलाई आवश्यक कागजात पेस गर्न अन्तिम चेतावनी दिएका हुन् ।
आन्तरिक राजस्व कार्यालय त्रिपुरेश्वरका अनुसार कर परीक्षणका लागि आमिनुल इन्टरप्राइजेज, एन.जी.एस ट्रेडर्स र लिलामी बजार प्रालि छनोटमा परेका छन् । कार्यालयले ती करदातासँग पटक–पटक सम्पर्क गर्न खोजे पनि सम्पर्क हुन नसकेको तथा केहीले सूचना बुझेपछि पनि आवश्यक कागजात पेस नगरेको जनाएको छ ।
आयकर ऐन, २०५८ तथा मूल्य अभिवृद्धि कर (भ्याट) सम्बन्धी प्रचलित कानुनी व्यवस्थाअनुसार सूचना जारी गर्दै कार्यालयले सम्बन्धित कम्पनीलाई १५ दिनभित्र सम्पूर्ण कारोबारसम्बन्धी कागजात पेस गर्न निर्देशन दिएको छ ।
त्यस्तै, आन्तरिक राजस्व कार्यालय तुलसीपुरले पनि आर्थिक वर्ष २०७८/७९ को कारोबार परीक्षणका लागि छनोट भएका पाँच कम्पनीलाई आवश्यक कागजात बुझाउन निर्देशन दिएको छ । कार्यालयका अनुसार माइलस्टोन बिल्डर्स, देवकोटा सप्लायर्स, गुराँस इन्टरप्राइजेज, शान्दार निर्माण सेवा र सौरभ इन्टरप्राइजेज कर परीक्षणका लागि छनोट भएका कम्पनी हुन् ।
यी राजस्व कार्यालयले तोकिएको समयभित्र कागजात पेस नभए उपलब्ध तथ्यांक तथा सूचनाका आधारमा कर निर्धारण प्रक्रिया अगाडि बढाइने जानकारी दिएको छ ।


