Banijya News

अर्बौँ राजस्व ठगीको आरोप लागेपछि आक्रोशित बने अर्थमन्त्री वाग्ले

1
1.0K Shares

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्षको बजेट निर्माणका क्रममा विद्युतीय गाडी (इभी) को कर हेरफेरमा सूचना चुहावट भएको भन्ने आरोपको कडा प्रतिवाद गर्दै त्यसलाई प्रमाणित गर्न चुनौती दिएका छन्। बिहीबार संसद्को सार्वजनिक लेखा समितिको बैठकमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिने क्रममा उनले आफ्नो निष्ठा र नैतिकतामाथि नियोजित रूपमा प्रहार गर्न खोजिएको भन्दै आक्रोश र असन्तुष्टि व्यक्त गरे।

लामो समयदेखि सार्वजनिक जीवनमा बनाएको छवि धमिल्याउन र बदनाम गर्न निश्चित समूह सक्रिय रहेको उल्लेख गर्दै अर्थमन्त्री वाग्लेले बैठकमा भावुक शैलीमा आफूले दुई अर्ब त परै जाओस्, दुई रुपैयाँ मात्रै बेइमानी गरेको प्रमाण कसैले दिएमा अर्थमन्त्री, सांसद र राजनीति मात्र नभई सम्पूर्ण सार्वजनिक जीवन नै तत्काल त्यागिदिने घोषणा गरे।

नीतिगत छिद्रको प्रयोग र वर्गीकरणको यो खेलमार्फत व्यापारिक घरानालाई पोस्ने गरी सूचना चुहावट भएको भन्दै सांसदहरूले घेरेपछि अर्थमन्त्री वाग्लेले संसद् र राजनीतिमा यस्तो नैतिक धरातल अन्य कसैसँग छ भनी प्रतिप्रश्न गरेका थिए। अटोमोबाइल क्षेत्रमा विद्यमान सिट क्षमता र भन्सार वर्गीकरणको विवाद लामो समयदेखिको प्राविधिक विषय भएको र यसमा कुनै पनि प्रकारको भित्री सूचना (इन्साइडर इन्फर्मेसन) बाहिर नगएको दाबी मन्त्रालयका अधिकारीहरूले समेत गरेका छन्।

बजेटको विश्वसनीयता र कर परिमार्जनको पारदर्शितामाथि संसद्को महत्त्वपूर्ण समितिमा नै आरोप-प्रत्यारोप चलेपछि यो विषयले आगामी दिनमा थप राजनीतिक र कानुनी बहस तताउने निश्चित देखिएको छ ।

1

Scroll to Top