Banijya News

कच्चा तेलको मूल्य प्रतिब्यारेल ९० डलर नाघ्यो

1
1.0K Shares

अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा उल्लेखनीय वृद्धि भएसँगै विश्व ऊर्जा बजारमा पुनः नयाँ तरंग र दबाब सिर्जना भएको छ । न्यूयोर्क मर्केन्टाइल एक्सचेन्जमा आगामी जुलाई डेलिभरीका लागि वेस्ट टेक्सास इन्टरमिडिएट कच्चा तेलको मूल्य प्रतिब्यारेल १.८३ अमेरिकी डलर अर्थात् २.०७ प्रतिशतले बढेर ९०.०३ डलर पुगेको छ ।

मूल्य बढ्ने यो क्रम लन्डनस्थित आईसीई फ्युचर्स एक्सचेन्जमा पनि देखिएको छ, जहाँ अगस्ट डेलिभरीका लागि बेन्चमार्क ब्रेन्ट क्रुडको मूल्य प्रतिब्यारेल १.६५ डलर(१.८० प्रतिशत)ले वृद्धि भई प्रतिव्यारेल ९३.१० डलरमा बन्द भएको छ ।

मुख्य गरी पेट्रोलियम निर्यातक राष्ट्रहरूको संगठन द्वारा उत्पादनमा गरिएको कटौती, भू-राजनीतिक तनाव र गर्मीयामको सुरुवातसँगै प्रमुख अर्थतन्त्रहरूमा बढेको इन्धनको मागका कारण कच्चा तेलको मूल्य ९० डलर माथिको उच्च विन्दुमा पुगेको विश्लेषकहरूको भनाइ छ । विश्व बजारमा देखिने तेलको यस्तो तीव्र उतारचढावले नेपाल जस्ता शतप्रतिशत इन्धन आयातमा निर्भर रहेका मुलुकहरूको अर्थतन्त्रमा प्रत्यक्ष र गम्भीर असर पार्ने गर्दछ ।

इन्धनको मूल्य बढ्दा आयात लागत वृद्धि भई विदेशी मुद्रा सञ्चिति र व्यापार घाटामा दबाब पर्ने मात्र नभई, ढुवानी भाडा महँगिएर बजारमा दैनिक उपभोग्य वस्तुहरूको मूल्य समेत बढ्न जान्छ, जसले अन्ततः सर्वसाधारण उपभोक्तालाई महँगीको मारमा पार्ने निश्चित देखिन्छ ।

1

Scroll to Top