पोखराबाट संयुक्त अरब इमिरेट्सको दुबई सहरका लागि नियमित अन्तर्राष्ट्रिय व्यावसायिक हवाई उडान सञ्चालन हुने भएको छ । आगामी २३ सेप्टेम्बर २०२६ देखि सञ्चालन हुने उक्त उडानका लागि टिकट बुकिङ खुला भइसकेको छ । इच्छुक यात्रुहरूले सम्बन्धित वायुसेवा कम्पनीको आधिकारिक वेबसाइट तथा नजिकको ट्राभल एजेन्सीमार्फत टिकट बुक गर्न सक्नेछन् ।
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन १ जनवरी २०२३ मा तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहालद्वारा गरिएको थियो । विमानस्थल सञ्चालनमा आएपछि पनि नियमित अन्तर्राष्ट्रिय व्यावसायिक उडान भने हुन सकेको थिएन । यस अवधिमा चीन र भुटानका विभिन्न गन्तव्यमा चार्टर उडानहरू सञ्चालन भएका थिए । त्यस्तै, भारतमा एकपटक हवाई एम्बुलेन्समार्फत बिरामी ओसारपसारका लागि उडान गरिएको थियो । तर, नियमित अन्तर्राष्ट्रिय व्यावसायिक हवाई सेवा सुरु हुन नसक्दा विमानस्थलको प्रभावकारी उपयोगबारे निरन्तर प्रश्न उठ्दै आएको थियो ।
करिब पाँच दशक लामो प्रतीक्षा, पोखरेलीहरूको निरन्तर दबाब, पर्यटन व्यवसायीहरूको पहल तथा विभिन्न चरणमा भएका संघर्षपछि निर्माण सम्पन्न भएको यो विमानस्थल पोखरेलीहरूको गौरवको आयोजना हो । अब दुबईका लागि नियमित अन्तर्राष्ट्रिय उडान सञ्चालन हुन लागेसँगै पोखरा अन्तर्राष्ट्रिय विमानस्थलले आफ्नो मूल उद्देश्यअनुसार अन्तर्राष्ट्रिय हवाई सेवाको ढोका खोल्न सफल भएको अपेक्षा गरिएको छ ।
पोखरा पर्यटन परिषद्का निवर्तमान अध्यक्ष पोमनारायण श्रेष्ठका अनुसार, पोखरा अन्तर्राष्ट्रिय विमानस्थल केवल एउटा पूर्वाधार परियोजना मात्र होइन । यो पोखरेलीहरूको दशकौँदेखिको सपना र संघर्षको प्रतिफल हो । अब दुबईका लागि नियमित उडान सुरु हुनु पोखरा, गण्डकी प्रदेश र समग्र नेपालको पर्यटन, व्यापार तथा आर्थिक विकासका लागि ऐतिहासिक उपलब्धि भएको उनी बताउँछन् ।
पोखराबाट नियमित अन्तर्राष्ट्रिय व्यावसायिक उडानको सुरुवातलाई केवल हवाई सेवा विस्तारका रूपमा मात्र नभई पोखराको अन्तर्राष्ट्रिय पहिचानलाई थप सुदृढ बनाउने ऐतिहासिक कदमका रूपमा हेरिएको छ ।
पोखराबाट दुबईको नियमित हवाई सेवा सञ्चालनसँगै पर्यटन प्रवद्र्धन, व्यापार विस्तार, वैदेशिक रोजगारी तथा अन्तर्राष्ट्रिय आवागमनमा नयाँ अवसर सिर्जना हुने अपेक्षा गरिएको छ । साथै, दुबई हुँदै विश्वका विभिन्न मुलुकमा सहज हवाई पहुँच विस्तार हुने विश्वास गरिएको छ ।


