Banijya News

बिजुली निर्यातमा समस्या, भारतको स्वीकृति नहुँदा बंगलादेशमा थप बिजुली पठाउन असफल

1
1.0K Shares

नेपालमा वर्षायाममा बिजुली उत्पादन बढी हुने भएकाले आन्तरिक खपतपछि बाँकी बिजुली खेर जाने गर्दछ । वर्षायाममा आन्तरिक खपतपछि बाँकी हुने उक्त बिजुली भारत र बंगलादेशमा निर्यात हुँदै आएको छ । तेस्रो मुलुक विद्युत् निर्यात गर्न भारतको स्वीकृति लिनुपर्दछ । अहिले नेपालबाट बंगलादेश बिजुली निर्यात हुने भएपनि भारतको स्वीकृतिबिना निर्यात हुन सक्दैन । त्यसैले, नेपालबाट असार १ अर्थात् १५ जुनदेखि बंगलादेशमा थप २० मेगावाट बिजुली निर्यात नहुने भएको छ ।

अहिले नेपालबाट बंगलादेशमा ४० मेगावाट बिजुली निर्यात हुने गर्दछ । थप निर्यातका लागि भारतको केन्द्रीय विद्युत् प्राधिकरण (सीईए) को स्वीकृति, नेपाल–भारत ऊर्जा सचिवस्तरीय संयुक्त निर्देशक समिति (जेएससी) को निर्णय र संशोधित वा नयाँ त्रिपक्षीय सम्झौता गर्नुपर्ने ऊर्जा अधिकारी बताउँछन्‌ । तर, प्रसारणलाइनको क्षमता नभएको भन्दै सीईएले स्वीकृति दिएको छैन भने अन्य प्रक्रिया पूरा हुन सकेको छैन ।

वर्षायाममा नेपालबाट बिजुली भारत र बंगलादेशमा निर्यात गर्दै आएको छ । हिउँदयाममा भने आन्तरिक माग धान्न भारतबाटै बिजुली आयात गर्नुपर्ने अवस्था छ । २०८२ मंसिर ११ मा ढाकामा भएको नेपाल–बंगलादेश ऊर्जा सचिवस्तरीय संयुक्त निर्देशक समिति (जेएससी) बैठकले हालको ४० मेगावाट सम्झौताअनुसार थप २० मेगावाट बिजुली निर्यात गर्ने सहमति गरेको थियो । त्यसअनुसार आवश्यक प्रक्रिया अघि बढाउने समझदारी पनि भएको थियो ।

त्यसो त, नेपाल विद्युत् प्राधिकरणले थप २० मेगावाट निर्यातका लागि एनटीपीसी विद्युत् व्यापार निगम लिमिटेड भारत (एनभीभीएन) लाई औपचारिक अनुरोध पठाइसकेको छ । तर, भारत–बंगलादेश प्रसारणलाइनको क्षमता एक हजार मेगावाट रहेकाले थप २० मेगावाट निर्यात गर्न नसकिने भन्दै भारतले स्वीकृति दिएको छैन ।

प्राधिकरणको विद्युत् व्यापार विभागका निर्देशक थर्कबहादुर थापाका अनुसार, प्रसारणलाइनको क्षमताका कारण थप २० मेगावाट निर्यातका लागि भारतको सीईएमा एनभीभीएनमार्फत प्रक्रिया अघि बढाए पनि स्वीकृति पाउन नसकिएको हो । त्यसैले, पहिला ४० मेगावाटको बिजुली निर्यात गरेजस्तै यसपटक पनि सोही मात्रामा मात्र विद्युत् निर्यात हुने भएको हो ।

नेपालमा बस्ने आगामी ऊर्जा सचिवस्तरीय संयुक्त निर्देशक समिति (जेएससी) र सहसचिवस्तरीय संयुक्त कार्यदल (जेडब्लूजी) बैठकले पनि थप २० मेगावाट बिजुली बंगलादेशलाई बिक्री गर्नेबारे आवश्यक निर्णय लिनुपर्नेछ । तर हालसम्म उक्त बैठक तय भएको छैन । यसअघि बंगलादेशलाई ४० मेगावाट बिजुली निर्यातका लागि त्रिपक्षीय सम्झौता गर्दासमेत नेपाल–भारत जेएससी बैठकले निर्णय गरेको थियो ।

यसअघि २०८० पुस २० मा बसेको जेएससी बैठकले भारतको प्रसारण प्रणाली प्रयोग गर्दै नेपालबाट ४० मेगावाट बिजुली बंगलादेश निर्यात गर्न भारतको विद्युत् आयात–निर्यात निर्देशिकाबमोजिम प्राधिकरण, एनभीभीएन र बंगलादेश पावर डेभलपमेन्ट बोर्ड (बीपीडीबी) बीच छिट्टै त्रिपक्षीय सम्झौता गर्न सैद्धान्तिक सहमति दिएको थियो । यसपछि २०८१ असोज १७ मा नेपाल विद्युत् प्राधिकरण, बंगलादेशको बीपीडीबी र भारतको एनभीभीएनबीच त्रिपक्षीय सम्झौता भएको थियो । सोही सम्झौताअनुसार बंगलादेशमा हरेक वर्ष १५ जुनदेखि १५ नोभेम्बर १५ सम्म ४० मेगावाट बिजुली निर्यात भइरहेको छ ।

अहिले थप २० मेगावाटका लागि पहल भए पनि नेपाल–भारत जेएससीमा छलफल गरी आवश्यक निर्णय हुन नसक्दा थप विद्युत् निर्यात गर्न समस्या भएको हो । हालसम्म नेपालले भारत र बंगलादेशमा गरी १ हजार १ सय ६५ मेगावाट विद्युत् निर्यातको स्वीकृति पाइसकेको छ । चालु आर्थिक वर्षको १० महिनामा भारत र बंगलादेशमा २० अर्ब ९९ करोड ५२ लाख रुपैयाँको बिजुली निर्यात भएको छ । गत आर्थिक वर्षको १० महिनामा १३ अर्ब १० करोड ३३ लाख रुपैयाँको बिजुली निर्यात भएको थियो ।

1

Scroll to Top