Banijya News

कल्याणकारी कोषको रकम कर्मचारीलाई बाँड्न नपाइने सर्वोच्चको आदेश

1
1.1K Shares

बैंक तथा वित्तीय संस्थाले आफूले कल्याणकारी कोषमा जम्मा गरेको रकम कानून विपरीत कर्मचारीहरूलाई नगदका रूपमा बाँड्न नपाउने भएका छन् । सर्वोच्च अदालतले नेपाल एसबीआई बैंकको सन्दर्भमा फैसला सुनाउँदै कल्याणकारी कोषको रकम श्रमिकलाई व्यक्तिगत लाभांश वा अतिरिक्त पारिश्रमिकका रूपमा नगद बाँड्न नमिल्ने ठहर गरेको हो ।

सर्वोच्चका न्यायाधीशद्वय हरिप्रसाद फुयाँल र अब्दुल अजीज मुसलमानको संयुक्त इजलासले नेपाल एसबीआई बैंकविरुद्ध श्रम अदालत र प्रभाकर पुडासैनीको मुद्दामा उत्प्रेषणको आदेश जारी गर्दै कडा फैसला सुनाएको हो । नेपाल एसबीआई बैंक लिमिटेडले बोनस वितरण गरेर बाँकी रहेको रकम आफ्ना बहालवाला कर्मचारीहरूलाई नगद वितरण गर्ने गरेको पाइएको छ । त्यसलाई श्रम अदालतले समेत वैधानिकता दिए पनि सर्वोच्च अदालतले उक्त विवादास्पद फैसलालाई उल्ट्याउँदै पूर्णविराम लगाइदिएको छ ।

एसबीआई बैंक स्वयंले आफ्नो श्रम सम्बन्ध समितिको २०७५ पुस ४ गते बसेको ३०औं बैठकको निर्णयअनुसार बोनस वितरणपछि बाँकी रहेको रकम बहालवाला कर्मचारीहरूलाई मात्र प्रदान गर्ने निर्णय गरेको अदालतमा स्वीकार गरेको छ । एसबीआई बैंकले संस्थागत रूपमै कानूनको अपव्याख्या गरेर रकम बाँड्ने गरेको स्वीकार गरेको देखिन्छ ।

बैंकका पूर्व कर्मचारी प्रभाकर पुडासैनीले स्टाफ वेलफेयरको रकम आफूले पनि व्यक्तिगत रूपमा पाउनुपर्ने दाबी गर्दै श्रम अदालतमा मुद्दा हालेका थिए । श्रम अदालतले पुडासैनीलाई उक्त रकम व्यक्तिगत रूपमा भुक्तानी दिनु भनी बैंकको नाममा फैसला गरिदिएको थियो । सर्वोच्च अदालतले बोनस ऐन, २०३० को दफा १३ र श्रम नियमावली, २०७५ को नियम ८४ को चिरफार गर्दै बैंक व्यवस्थापन र श्रम अदालत दुवैको कदम गैरकानुनी भएको ठहर गरेको छ ।

सर्वोच्चको फैसलामा भनिएको छ– ‘कल्याणकारी कोष कुनै श्रमिकलाई व्यक्तिगत लाभांश वा अतिरिक्त पारिश्रमिक वितरण गर्ने उद्देश्यले स्थापित कोष होइन । यो श्रमिक तथा निजका परिवारको सामूहिक हित, संरक्षण, उपचार, शैक्षिक विकास, खेलकुद र मनोरञ्जनका लागि स्थापना गरिएको संस्थागत कोष हो ।’

न्यायालयले श्रम नियमावलीको नियम ८४(४) को हवाला दिँदै कोषको रकम कुन प्रयोजनमा खर्च गर्ने भन्ने विषय सीमित र उद्देश्यपरक रहेको स्पष्ट पारेको छ । उक्त व्यवस्थाले श्रमिकहरूलाई प्रत्यक्ष नगद वितरण गर्ने वा कुनै आर्थिक वर्षको कार्यसम्पादनको आधारमा हिस्सा बाँड्ने परिकल्पना कतै पनि नगरेको सर्वोच्चको फैसलामा उल्लेख छ ।

सर्वोच्चले भनेको छ– ‘विधायिकाले अपवादको रूपमा मात्र व्यक्तिगत रूपमा वितरण गर्न सकिने विशेष व्यवस्था गरेको सन्दर्भमा, सामान्य अवस्थामा पनि कर्मचारीलाई नगद बाँड्नु विधायिकाको उद्देश्य र न्यायिक मान्यता विपरीत हुन्छ ।’ सर्वोच्चले नेपाल एसबीआई बैंक व्यवस्थापन र यसको श्रम सम्बन्ध समितिलाई कडा ध्यानाकर्षण गराएको छ । भविष्यमा समेत कल्याणकारी कोषको रकम कर्मचारीहरूबीच नगदका रूपमा बाँडफाँड नगर्न र कानुनले तोकेको उद्देश्यअनुरूप सामूहिक हितमा मात्र परिचालन गर्न अदालतले आदेश दिएको छ ।

सर्वोच्चका अनुसार, बोनस वितरणपछि कल्याणकारी कोषमा जम्मा भएको रकममा कुनै पनि श्रमिकको व्यक्तिगत हक सिर्जना हुँदैन । फैसलाअनुसार श्रम अदालतले विपक्षी प्रभाकर पुडासैनीलाई व्यक्तिगत रूपमा स्टाफ वेलफेयरको रकम भुक्तानी दिनु भनी गरेको फैसला बदर हुन्छ ।

सर्वोच्च अदालतको यो फैसलाले कर्मचारीहरूले वर्षभरि काम गरेकै आधारमा कल्याणकारी कोषको रकममाथि गर्ने व्यक्तिगत अधिकारको दाबीलाई पूर्ण रूपमा अवैध घोषित गरिदिएको छ । विवादका विपक्षी प्रभाकर पुडासैनीले आर्थिक वर्ष ०७४/०७५ भरि नेपाल एसबीआई बैंकमा सेवा गरेको हुनाले आफूले पनि स्टाफ वेलफेयरको नगद पाउनुपर्ने जिकिर गरेका थिए । यसलाई श्रम अदालतले सदर गरिदिएको थियो । तर, सर्वोच्चले श्रम अदालतको सोही बुझाइमै गम्भीर कानुनी त्रुटि फेला पारेको हो ।

अदालतले श्रम कानुनको चिरफार गर्दै ‘बोनस प्राप्त गर्ने वैयक्तिक अधिकार’ र कल्याणकारी कोषको लाभबीच आकाश जमिनको भिन्नता रहेको स्पष्ट पारेको छ । फैसलाअनुसार, बोनस पाउनु श्रमिकको सोझो कानुनी अधिकार हो । तर बोनस बाँडेर बाँकी रहेको रकमबाट बन्ने कल्याणकारी कोषबाट फाइदा लिन पाउनु अधिकार नभएर एउटा लाभको अपेक्षा मात्रै रहेको उल्लेख छ ।

1

Scroll to Top