नेपाली चिया निर्यातमा भारतीय चिया बोर्डले लगाएको अवरोधका कारण करोडौं मूल्यका चिया गोदाममै थन्किएका छन् । भारतले लगाएको सो अवरोधको विरोधमा झापाका चिया उद्योग तथा बगानहरु भोली असार ४ गतेदेखि बन्द गर्ने निर्णय गरेका छन् । यसअघि नै इलामका ५३ भन्दा बढी अर्थोडक्स चिया उद्योगहरु असार १ गतेदेखि बन्द भइसकेका छन् ।
नेपाल चिया उत्पादक संघले बुधबार झापामा पत्रकार सम्मेलन आयोजना गर्दै उद्योग बन्द गर्ने निर्णय सार्वजनिक गरेको हो । संघका अनुसार, सरकार र भारतीय पक्ष दुवै तर्फबाट समस्या समाधानका लागि कुनै ठोस पहल नभएपछि उद्योगी तथा किसानहरू बाध्य भएर आन्दोलनमा उत्रिनुपरेको हो ।
संघका अध्यक्ष आदित्य पराजुलीले करिब डेढ महिनादेखि निरन्तर सरकारी निकायहरूको ध्यानाकर्षण गराउने प्रयास भए पनि सुनुवाइ नभएको गुनासो गरेका छन् । प्रधानमन्त्री कार्यालय, परराष्ट्र मन्त्रालय र कृषि मन्त्रालयलगायत सम्बन्धित निकायमा ज्ञापनपत्र बुझाइसकिए पनि विषयलाई गम्भीर रूपमा नलिइएको उनको भनाइ छ । पहिले यस्ता समस्या आउँदा सरकारी तहबाट सक्रिय पहल हुने गरे पनि अहिले सम्बन्धित निकायसम्म पहुँच नै कठिन बन्दै गएको उनी बताउँछन् ।
व्यवसायीहरूले भारतीय चिया बोर्डले हालै लागू गरेको नयाँ गुणस्तर परीक्षण प्रक्रियालाई निर्यात रोक्ने रणनीतिको रूपमा व्याख्या गरेका छन् । भारतले लागू गरेको नयाँ स्ट्यान्डर्ड अपरेटिङ प्रोसिजर (एसओपी) अनुसार नेपाली चियाको शतप्रतिशत परीक्षण गर्न थालिएको छ । पहिले ५४ वटा मापदण्डमा परीक्षण हुने चिया अहिले २६० वटा मापदण्डमा परीक्षण हुन थालेको उद्योगीहरूको भनाइ छ । गुणस्तरको नाममा बारम्बार नेपाली चियामाथि अवरोध सिर्जना हुँदै आएको र यसले नेपाली उत्पादनलाई बजारमा कमजोर बनाउने प्रयास भएको उनीहरूको आरोप छ । साथै, दार्जिलिङ ब्रान्डका नाममा नेपाली चिया मिसाएर बिक्री हुने अभ्यास भने भारततर्फबाटै हुने तर नेपाली चियाको गुणस्तरमाथि प्रश्न उठाइने दोहोरो मापदण्ड रहेको उनीहरूको दाबी छ ।
झापामा मात्र ३० भन्दा बढी चिया उद्योग र करिब दुई दर्जन बगान भोली असार ४ गतेदेखि पूर्ण रूपमा बन्द हुनेछन् । भारतीय अवरोध कायम रहेसम्म बन्द कार्यक्रम जारी रहने संघले प्रष्ट पारेको छ । नेपालको सबैभन्दा ठूलो चिया उत्पादन क्षेत्र मानिने झापामा अर्थोडक्स र सीटीसी गरी वार्षिक करिब १२ देखि १४ अर्ब रुपैयाँ बराबरको कारोबार हुने गरेको छ, जसमध्ये ५ अर्ब रुपैयाँभन्दा बढी मूल्यको चिया भारततर्फ निर्यात हुने व्यवसायीहरूको तथ्यांक छ । उद्योगहरूले वार्षिक करिब एक अर्ब रुपैयाँ राजस्व राज्यलाई बुझाउने गरेका छन् । कुल चिया निर्यातको ९० देखि ९५ प्रतिशत हिस्सा भारतीय बजारमा जाने गरेको छ । इलाममा मात्रै वार्षिक ६५ लाख किलो चिया उत्पादन हुन्छ भने झापामा करिब २ करोड किलो चिया उत्पादन हुने गरेको छ ।
यस क्षेत्रमा प्रत्यक्ष रूपमा करिब ६० हजार श्रमिक, कर्मचारी र किसानको जीविकोपार्जन जोडिएको छ । निर्यात अवरुद्ध हुँदा उत्पादित चिया उद्योगमै थन्किन थालेको, नगद प्रवाह प्रभावित भएको र किसानलाई हरियो पत्तीको भुक्तानी दिन समेत समस्या देखिएको व्यवसायीहरूको भनाइ छ ।
उद्योग बन्द हुँदा अर्बौं लगानी धरापमा
नेपालको बैंकिङ क्षेत्रमा पछिल्लो समय खराब कर्जा बढ्दो छ । आर्थिक गतिविधिमा आएको सुस्तता, उद्योग–व्यवसायको कमजोर अवस्था र कर्जा असुलीमा देखिएको चुनौतीका कारण बैंकहरूको गैरसञ्चालित कर्जा (एनपीएल) लगातार बढिरहेको छ । यहीबीच नेपालको प्रमुख नगदे बाली तथा निर्यातमुखी क्षेत्र चिया उद्योग गम्भीर संकटमा परेपछि बैंकिङ क्षेत्र थप दबाबमा पर्ने संकेत देखिएको छ ।
नेपाल राष्ट्र बैंकको बैंकिङ क्षेत्रको वार्षिक सुपरीवेक्षण प्रतिवेदन, २०२६ अनुसार वाणिज्य बैंकहरूको खराब कर्जा २२.४० प्रतिशतले बढेर २ खर्ब २० अर्ब ३३ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष ३.७६ प्रतिशत रहेको खराब कर्जाको अनुपात बढेर ४.४० प्रतिशत पुगेको छ । सरकारी स्वामित्वका बैंकहरूमा ४.५६ प्रतिशत र निजी क्षेत्रका बैंकहरूमा ४.३८ प्रतिशत कर्जा खराब देखिएको छ ।
यसबाहेक, बैंकिङ क्षेत्रमा रहेको गैरबैंकिङ सम्पत्ति (एनबीए) पनि ४१.७७ प्रतिशतले बढेर ४२ अर्ब ७५ करोड रुपैयाँ पुगेको छ । यसले बैंकहरूले धितो लिलाम गरेर आफ्नो स्वामित्वमा लिएका सम्पत्तिको मात्रा बढ्दै गएको संकेत गर्छ । यस्तो अवस्थामा नेपालको चिया उद्योगमा देखिएको संकटले बैंकिङ क्षेत्रलाई थप जोखिममा पार्ने चिन्ता बढेको छ ।
नेपाल राष्ट्र बैंकको आर्थिक वर्ष २०८२/८३ को पुस मसान्तसम्मको तथ्यांक अनुसार, बैंक तथा वित्तीय संस्थाहरूले चिया तथा कफी क्षेत्रमा ३ अर्ब ४६ करोड रुपैयाँभन्दा बढी कर्जा लगानी गरेका छन् । यो रकम कुल कृषि कर्जा ३ खर्ब ३३ अर्ब ११ करोड रुपैयाँको तुलनामा सानो देखिए पनि चिया क्षेत्रको सन्दर्भमा निकै ठूलो हो । चिया उद्योगहरूमा मेसिनरी खरिद, उद्योग विस्तार, प्रशोधन केन्द्र निर्माण तथा निर्यात व्यवसाय सञ्चालन आदिमा बैंकहरूले कर्जा प्रवाह गरेका छन् । यदि अहिलेको अवरोध लामो समयसम्म रहेमा उद्योगहरू प्रभावित हुने र यसले कर्जा भुक्तानीमा असर पर्नेछ । त्यसको प्रत्यक्ष असर बैंकहरूको खराब कर्जामा देखिन सक्ने अनुमान गरिएको छ ।
नेपाल चिया उत्पादक संघका अध्यक्ष आदित्य पराजुलीका अनुसार, भारतले लागू गरेको शतप्रतिशत परीक्षण प्रणाली व्यवहारिक नभएको र यसले नेपाली चिया निर्यातलाई अप्रत्यक्ष रूपमा रोकेको छ । अहिले नेपालमा वार्षिक करिब २ करोड ६० लाखदेखि २ करोड ७० लाख किलो चिया उत्पादन हुने र त्यसमध्ये झण्डै १ करोड किलो मात्रै आन्तरिक बजारमा खपत हुने गरेको छ । बाँकी १ करोड ६०–७० लाख किलो चिया भारतमा निर्यात हुँदै आएको छ । नयाँ व्यवस्थाले निर्यात अनिश्चित बनेपछि उद्योगीहरू उत्पादनमै निरुत्साहित भएका छन् । विशेषगरी नेपालका चिया उद्योगहरु बैंकको ऋणबाटै चलिरहेका छन् । चिया उद्योग रोकिँदा अब बैंकको लोन कसरी तिर्ने भन्नेमा व्यवसायीमा चिन्ता हुन थालेको उनले बताए ।
बैंकिङ क्षेत्रका जानकारहरूका अनुसार चिया उद्योगमा देखिएको संकट तत्काल समाधान नभए यस क्षेत्रमा प्रवाह भएको कर्जा क्रमशः समस्याग्रस्त बन्न सक्छ । पहिले नै बैंकहरूको खराब कर्जा बढिरहेको अवस्थामा चिया उद्योग थप दबाबको कारण बन्न सक्छ । विशेषगरी पूर्वी नेपालका चिया उद्योगमा लगानी गरेका बैंकहरू बढी प्रभावित हुन सक्छन् ।
चिया उद्योग बन्द हुँदा उद्योगीले बैंकको साँवा–ब्याज तिर्न नसक्ने, किसानले हरियो पत्ती बिक्री गर्न नपाउने र मजदुरको आम्दानी रोकिने अवस्था सिर्जना हुन्छ । यदि उद्योगहरूले उत्पादन नै रोक्न थाले भने यसमा गरिएको लगानी कर्जा जोखिममा पर्न सक्छ । उद्योग विस्तारका लागि लिइएका दीर्घकालीन कर्जाको असुलीमा पनि समस्या आउन सक्ने बैंकरहरु बताउँछन् ।
चिया उद्योगको संकटले उद्योगीहरू मात्र होइन, यसको असर किसान, मजदुर, व्यापारी, ढुवानी व्यवसायी, निर्यातकर्ता र बैंकिङ क्षेत्रसम्म फैलिने देखिन्छ । अर्थात् चिया उद्योगमा देखिएको संकटले सम्पूर्ण मूल्य शृंखलालाई असर गर्ने खतरा बढेको छ ।
इलामबाट निर्वाचित सांसद सुहाङ नेम्बाङले सामाजिक सञ्जालमा लेखेका छन्– ‘चिया उद्योग बन्द हुनु भनेको किसानको आम्दानी घट्नुमात्र होइन, रोजगारी गुम्नु, उद्योगको लगानी जोखिममा पर्नु, निर्यात घट्नु र विदेशी मुद्रा आर्जनमा प्रत्यक्ष असर पर्नु हो ।’ चिया किसानको पीडा केवल इलामको स्थानीय समस्या मात्र नभएको भन्दै उनले यो राष्ट्रिय उत्पादन, निर्यात, रोजगारी र समग्र अर्थतन्त्रसँग जोडिएको गम्भीर प्रश्न भएको उल्लेख गरेका छन् । ‘किसानको पसिना गोदाममा थन्किनु हुँदैन, किसानको उत्पादन बजारविहीन हुनु हुँदैन र राज्यको आर्थिक लक्ष्य कूटनीतिक तथा व्यापारिक अवरोधका कारण कमजोर बन्न दिनु हुँदैन,’ नेम्बाङले भनेका छन् ।
अहिले भारत नै चियाको प्रमुख बजार भएकाले वैकल्पिक बजारको अभावमा उद्योग जोखिममा परेको छ । त्यसैले, सरकारले चिया बजारीकरणमा सक्रिय भूमिका खेल्नुपर्ने र भारतबाहेक पाकिस्तान, मध्यपूर्व, रुस तथा अन्य तेस्रो मुलुकमा बजार विस्तार गर्नुपर्ने आवश्यकता देखिएको छ । अर्थोडक्स चियाका लागि युरोप, अमेरिका र जापानमा सरकारी स्तरको प्रवद्र्धन आवश्यक रहेको व्यवसायी बताउँछन् ।
नेपाली चियाका लागि भारतमै निर्भर हुनुपर्दा पटक–पटक यस्ता अनेक समस्या झेल्नुपर्ने र चिया उद्योग नै संकटमा पर्ने गरेको छ । त्यसैले, दीर्घकालीन रूपमा भारतसँगको निर्भरता घटाउन कूटनीतिक पहल गर्नुका साथै व्यापार सम्झौता पुनरावलोकन तथा अन्तर्राष्ट्रिय बजार विस्तारलाई पनि प्राथमिकता दिनुपर्ने देखिन्छ ।


