Banijya News

कम्पनीहरुले असोजसम्म वार्षिक विवरण बुझाए कर, दस्तुर मिनाहा हुने

1
1.0K Shares

कम्पनी ऐनअनुसार दर्ता भएका कम्पनीहरुले तोकिएको समयभित्र वार्षिक विवरण पेश गरेमा यसअघि लागेको कर, शुल्क, दस्तुर तथा जरिवानाबाट छुट पाउने भएका छन् ।

कम्पनी रजिस्ट्रारको कार्यालयले कम्पनी ऐन, २०६३ अन्तर्गत दर्ता भएका कम्पनीहरूका लागि कर, शुल्क, दस्तुर तथा जरिवाना मिनाहा सम्बन्धी सूचना जारी गरेको छ । सूचनाअनुसार, आर्थिक वर्ष २०८२/८३ का लागि वार्षिक विवरण २०८३ साल असोज मसान्तभित्र पेश गरेमा सो मितिभन्दा अघिसम्म लागेका सम्पूर्ण कर, शुल्क, दस्तुर तथा जरिवाना मिनाहा हुने व्यवस्था गरिएको छ ।

कम्पनी रजिस्ट्रारको कार्यालयले जारी गरेको सूचनाअनुसार कम्पनी ऐन, २०६३ बमोजिम दर्ता भएका तर हालसम्म कानुनले तोकेको वार्षिक विवरण पेश नगरेका, अद्यावधिक नगरेका वा तिर्नुपर्ने कर, शुल्क, दस्तुर तथा जरिवाना नतिरेका कम्पनीले यो सुविधा लिन सक्नेछन् । सरकारले लामो समयदेखि निष्क्रिय वा अभिलेख अद्यावधिक नगरेका कम्पनीलाई कानुनी दायरामा ल्याउने तथा कम्पनी अभिलेख व्यवस्थित बनाउने उद्देश्यले यस्तो व्यवस्था गरेको जनाएको छ । यसबाट कारोबार जारी राख्न चाहने वा कम्पनीको दर्ता खारेज गर्न चाहने कम्पनीलाई समेत सहज हुने अपेक्षा गरिएको छ ।

कम्पनी रजिस्ट्रारको कार्यालयले सम्बन्धित सबै कम्पनीलाई तोकिएको समयभित्र वार्षिक विवरण पेश गरी कानुनले दिएको छुटको सुविधा उपयोग गर्न आग्रह गरेको छ । समयसीमा नाघेपछि भने प्रचलित कानुनअनुसार कर, शुल्क, दस्तुर तथा जरिवाना लाग्ने भएकाले कम्पनीहरूले समयमै विवरण अद्यावधिक गर्न कार्यालयले जनाएको छ । सरकारले आर्थिक गतिविधिलाई औपचारिक प्रणालीमा ल्याउने र कम्पनी प्रशासनलाई थप व्यवस्थित बनाउने उद्देश्यका साथ यो व्यवस्था कार्यान्वयनमा ल्याएको हो ।

1

Scroll to Top