Banijya News

काठमाडौं महानगरले ल्यायो २५ अर्ब ८८ करोडभन्दा बढीको बजेट

1
1.0K Shares

काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि कार्यक्रम तथा बजेट, आर्थिक विधेयक र विनियोजन विधेयक पेस गरेको छ । आगामी आवका लागि काठमाडौंले कुल २५ अर्ब ८८ करोड ३० लाख ५५ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको हो ।

केन्द्रीय राजधानी काठमाडौंमै रहेकाले पनि यो मुलुककै सबैभन्दा ठूलो महानगरपालिका हो । यस महानगरले आगामी आवका नीति तथा कार्यक्रम कार्यान्वयन गर्न २५ अर्ब १३ करोड ३० लाख ५५ हजार सञ्चित कोषमा व्ययभार पर्ने र ७५ करोड अन्य बाह्य व्ययभार हुने गरी कुल २५ अर्ब ८८ करोड ३० लाख ५५ हजार रुपैयाँको अनुमानित बजेट पेस गरेको हो ।

काठमाडौं महानगरले चालु आर्थिक वर्ष २०८२/८३ का लागि २५ अर्ब ११ करोड ४३ लाख ४१ हजारको बजेट पारित गरेको थियो । महानगरको आगामी आव २०८३/८४ को बजेट सार्वजनिक गर्दै कार्यवाहक मेयर सुनिता डंगोलले आगामी आर्थिक वर्षका लागि सञ्चित कोषमा २५ अर्ब १३ करोड ३० लाख ५५ हजार रुपैयाँ जम्मा हुने अनुमान गरिएको बताइन् । जसमध्ये काठमाडौं महानगरपालिकाको आन्तरिक आय र बैंक मौज्दात गरी कुल २० अर्ब १८ करोड ६३ लाख २९ हजारको स्रोत व्यवस्थापन हुने अनुमान गरिएको छ । साथै, नेपाल सरकार तथा प्रदेश सरकारबाट सशर्त, समानीकरण, राजस्व बाँडफाँटबाट प्राप्त हुने अनुदान ४ अर्ब ९३ करोड ६७ लाख २६ हजारको स्रोत अनुमान गरिएको छ । त्यस्तै, जनसहभागिता बापत १ करोडको स्रोत प्राप्त हुने अनुमान गरिएको छ ।

प्रस्तुत बजेट तथा कार्यक्रमअन्तर्गत आर्थिक विकास क्षेत्रमा कुल बजेटको २.१ प्रतिशत अर्थात् ५४ करोड १८ लाख २० हजार प्रस्ताव गरिएको छ । सामाजिक विकास क्षेत्रमा ९.६ प्रतिशत अर्थात् २ अर्ब ४२ करोड २७ लाख ३१ हजार प्रस्ताव गरिएको छ । पूर्वाधार विकास क्षेत्रतर्फ ६१ प्रतिशत अर्थात् १५ अर्ब ३१ करोड ६७ लाख ४८ हजार छ ।

त्यस्तै, सुशासन तथा अन्तरसम्बन्धित क्षेत्रतर्फ ८.५ प्रतिशत अर्थात् २ अर्ब १३ करोड ४७ लाख ९२ हजार प्रस्ताव गरिएको छ । कार्यालय सञ्चालन तथा प्रशासनिक क्षेत्रतर्फ १८.८ प्रतिशत अर्थात् ४ अर्ब ७१ करोड ६९ लाख ६४ हजार प्रस्ताव गरिएको छ ।

काठमाडौं महानगरपालिकाले चालु आर्थिक वर्ष २०८२/८३ को जेठ महिनासम्म कुल ११ अर्ब २९ करोड २९ लाख रुपैयाँ मात्र खर्च गर्न सकेको छ । जुन विनियोजित बजेटको ४५ प्रतिशतमात्र खर्च भएको हो ।

चालु आवमा २५ अर्ब ११ करोड बराबरको बजेट कार्यान्वयन गरिरहेको महानगरले जेठ मसान्तसम्ममा चालु खर्च ५ अर्ब ७२ करोड र पूँजीगत खर्च ५ अर्ब ५२ करोड रुपैयाँ खर्च गरेको छ । महानगरले यस खर्चलाई सन्तोषजनक मानेको छ ।

1

Scroll to Top