राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो आगामी प्रथम राष्ट्रिय महाधिवेशनका लागि देशभर र प्रवाससमेत गरी कुल चार हजार २११ जना प्रतिनिधि चयन गरेको छ। पार्टी सचिवालयका संगठन विभाग सचिव शंकर श्रेष्ठका अनुसार यी प्रतिनिधिहरू सातै प्रदेश, प्रवास, सांगठनिक समायोजन र मनोनयन प्रक्रियामार्फत निर्धारण गरिएका हुन्।
यसअन्तर्गत ३३ देशका प्रवास सम्पर्क विभागबाट १७० जना चुनिएका छन् भने पार्टी विधानबमोजिम सभापतिबाट १३८ जना मनोनित भएका छन्। साथै, विभिन्न समूहबाट पार्टी प्रवेश गरेका १९२ जनालाई पनि महाधिवेशन प्रतिनिधिको रूपमा चयन गरिएको छ।
महाधिवेशनमा प्रादेशिक प्रतिनिधित्वतर्फ बागमती प्रदेशबाट सबैभन्दा बढी ७९४ जना र कर्णाली प्रदेशबाट सबैभन्दा कम ३४३ जना सहभागी हुँदैछन्। यस्तै, मधेस प्रदेशबाट ६३०, लुम्बिनीबाट ६२१, सुदूरपश्चिमबाट ५०५, गण्डकीबाट ४५४ र कोशी प्रदेशबाट ३६४ जना प्रतिनिधि सुनिश्चित भएका छन्।
महाधिवेशन प्रतिनिधि बन्नका लागि पालिका, क्षेत्र र जिल्ला तहका सभापति एवं उपसभापतिसहित पाँच जना रहने व्यवस्था गरिएको छ। यसका अतिरिक्त प्रदेश समितिका सम्पूर्ण सदस्यहरू, प्रदेशस्तरीय विभाग, अनुशासन आयोग र सल्लाहकार परिषद्का पदाधिकारीहरूले पनि प्रतिनिधिको हैसियत पाएका छन्।
प्रतिनिधित्वको दायरालाई थप व्यवस्थित बनाउन संघीय नेतृत्व मञ्चका सबै केन्द्रीय सदस्य र केन्द्रमा क्रियाशील ३८ वटा विभागबाट ११–११ जनाका दरले सदस्यहरू समेटिएका छन्। केन्द्रीय निर्वाचन, अनुशासन र लेखा आयोगबाट पनि ११–११ जनाको प्रतिनिधित्व सुनिश्चित गरिएको छ। स्थानीय तहको संरचनाअनुसार प्रत्येक गाउँपालिकाबाट एक, नगरपालिकाबाट दुई, उपमहानगरपालिकाबाट तीन र महानगरपालिकाबाट चार जना प्रतिनिधि चयन भएका छन्।
त्यस्तै, प्रदेश सम्पर्क विभागबाट तीन–तीन जना र जिल्ला सम्पर्क विभागबाट एक–एक जना प्रतिनिधि हुने व्यवस्था छ। सांगठनिक संवर्धनका लागि पार्टीले गत २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा पराजित भएका तथा समानुपातिक सूचीमा रहेका सक्रिय व्यक्तिहरूका साथै केन्द्रीय समितिमा नरहेका बहालवाला प्रतिनिधिसभा सदस्यहरूलाई पनि महाधिवेशन प्रतिनिधिको जिम्मेवारी दिएको छ।


