चितवनमा जारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशन अन्तर्गतको बन्दसत्र प्रतिनिधिहरूको नामावलीमा देखिएका प्राविधिक त्रुटि सच्याउने कार्य जारी रहेकाले पूर्वनिर्धारित समय (बिहान साढे ८ बजे) सुरु हुन सकेको छैन। निर्वाचन समितिले आइतबार सार्वजनिक गरेको ४ हजार प्रतिनिधिको प्रारम्भिक नामावलीमा व्यापक त्रुटि भेटिएपछि हाल प्रतिनिधिहरू फाराम भरेर नाम सच्याउन व्यस्त छन्, जसका कारण बन्दसत्रस्थल वरपर उल्लेख्य भीड लागेको छ।
यस बन्दसत्रमा केन्द्रीय समितिबाट पारित विधान संशोधन प्रस्तावसहित सांगठनिक, राजनीतिक र आर्थिक प्रतिवेदनहरू पेस गर्ने कार्यक्रम रहेको छ। नेतृत्व चयनतर्फ पार्टीले रवि लामिछानेलाई नै सर्वसम्मत रूपमा सभापतिमा निरन्तरता दिने बलियो सम्भावना रहे पनि केन्द्रीय निर्वाचन आयोगले औपचारिक निर्वाचन तालिका सार्वजनिक गरिसकेको छ।
निर्वाचन आयोगका प्रमुख भुवन केसीका अनुसार आज बिहान १० बजे प्रतिनिधिको अन्तिम नामावली प्रकाशन गरिनेछ भने दिउँसो १ बजेदेखि निर्वाचनका औपचारिक प्रक्रिया सुरु भई २ देखि ४ बजेसम्म मनोनयन दर्ता गरिनेछ। राति ११ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिसकेपछि, भोलिपल्ट (असार ९ गते) बिहान ७ बजेदेखि मौन अवधि सुरु हुनेछ र बिहान ८ बजेदेखि दिउँसो ३ बजेसम्म सभापति तथा केन्द्रीय सदस्यका लागि पहिलो चरणको मतदान हुने कार्यतालिका तय गरिएको छ।


