नेपाली चिया निर्यातमा भारतले गरेको अवरोधका कारण चिया उद्योग गम्भीर संकटमा परेको छ । करोडौं मूल्यका चिया गोदाममै थन्किएका छन् । भारतले लगाएको सो अवरोधको विरोधमा इलाम र झापाका चिया उद्योग तथा बगानहरु बन्द भएका छन् ।
चिया निर्यातमा पछिल्लो समय उत्पन्न जटिल अवस्था तथा भारतीय बजारमा देखिएको प्रक्रियागत अवरोधप्रति सूर्योदय अर्थोडक्स चिया उत्पादक संघले सरकारको ध्यानाकर्षण गराएका छन् । चिया उद्योगी र किसानले सोमबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, कृषि र उद्योग मन्त्रालयमा पुगेर चिया निर्यात खुलाउन तत्काल कूटनीतिक पहल गर्न अनुरोध गरेका छन् । सूर्योदय अर्थोडक्स चिया उत्पादक संघको अगुवाइमा सरकारलाई ज्ञापन पत्र बुझाइएको हो ।
भारतीय पक्षले नेपाली चियाको प्रत्येक पटक (कन्साइनमेन्ट) को अनिवार्य नमूना संकलन र प्रयोगशाला परीक्षण गर्नुपर्ने झन्झटिलो व्यवस्था गरेकोले समस्यामा परेको उद्योगीहरूको भनाइ छ ।
नयाँ व्यवस्थामा प्रत्येकपटकको विवरण भारतीय चिया परिषद्को पोर्टलमा दर्ता गर्नुपर्ने, परीक्षण शुल्क तिर्नुपर्ने र रिपोर्ट नआउन्जेल चिया बिक्री वा वितरण गर्न नपाइने, दुई हप्तामा आउने भनिएको रिपोर्ट आउन महिनौं लाग्ने गरेकोले निर्यात ठप्प भएको उनीहरूको भनाइ छ ।संघका अनुसार, भारतीय अवरोधका कारण हाल करिब ३ लाख केजी नेपाली चिया कोलकातामा रोकिएको छ भने थप १० लाख किलोग्राम तयारी चिया नेपालकै विभिन्न गोदामहरूमा थन्किएको छ ।
उनीहरूले मुख्यगरी चारवटा माग पेश गरेका छन् ।
१. कुटनीतिक संवाद तथा उच्चस्तरीय कूटनीतिक पहलः भारतीय सरकार र सम्बन्धित निकायसँग तत्काल कुटनीतिक संवाद गरी हाल लागू गरिएका व्यवस्थाहरुको स्पष्टता सहजीकरण तथा नेपाली चियाको निर्वाध निर्यात सुनिश्चित गर्न आवश्यक पहल गर्नुपर्ने ।
२. अन्तर–सरकारी संयन्त्र स्थापनाः नेपाल र भारतबीच चिया व्यापारका प्राविधिक र नियामकीय विषय समाधान गर्न स्थायी द्विपक्षीय संयन्त्र स्थापना गर्नुपर्ने ।
३. प्रयोगशाला परीक्षणको पारस्परिक मान्यताः दुवै देशका मान्यताप्राप्त प्रयोगशालाबीच परीक्षण प्रतिवेदनलाई एक–अर्काले मान्यता दिने व्यवस्था गरी दोहोरो परीक्षणको झन्झट हटाउनुपर्ने ।
४. नेपाली चिया उद्योगको संरक्षण र प्रवद्र्धनः चिया किसान, उत्पादक प्रशोधन उद्योग तथा निर्यातकर्ताको हित संरक्षणका लागि विशेष नीतिगत र कूटनीतिक सहयोग उपलब्ध गराउनुपर्ने ।
भारतको नयाँ नियमले परीक्षण शुल्क, गोदाम खर्च, ढुवानी अवरोध र ट्रक पार्किङ शुल्कका कारण उत्पादन लागत बढेको उद्योगीहरूको भनाइ छ । यसले अन्तर्राष्ट्रिय बजारमा नेपाली चियाको प्रतिस्पर्धात्मक क्षमता घटाएको र भारतीय सीमामा पुगेर परीक्षणमा ‘असफल’ घोषित भई फिर्ता आउने चिया ल्याउन समेत कठिन हुने गरेकाले व्यवसायीहरू ठूलो जोखिममा रहेको ज्ञापन पत्रमा उल्लेख छ ।
उद्योगीहरूसँगै सिंहदरबार पुगेका इलाम २ का प्रतिनिधिसभा सदस्य सुहाङ नेम्बाङले सरकारी निकायबाट समाधानका लागि कुटनीतिक पहल भइरहेको जानकारी प्राप्त भएको बताए । चिया निर्यात तत्काल खुलाउनुपर्ने अवस्था छ । हजारौँको रोजीरोटी र देशकै अर्थतन्त्रसँग गाँसिएको नेपाली चियाको उत्पादन, प्रवद्र्धन र निर्यातमा देखिएका कानूनी र नीतिगत जटिलताबारे सरकारको ध्यानाकर्षण गराएको उनले बताए ।
असार लागेसँगै इलाम र झापाका चिया उद्योग तथा बगानहरु बन्द भएका छन् । यसरी चिया उद्योगहरु ठप्प हुँदा अर्बौं लगानी जोखिममा परेको छ । यस क्षेत्रमा प्रत्यक्ष रूपमा करिब ६० हजार श्रमिक, कर्मचारी र किसानको जीविकोपार्जन जोडिएको छ । निर्यात अवरुद्ध हुँदा उत्पादित चिया उद्योगमै थन्किन थालेको, नगद प्रवाह प्रभावित भएको र किसानलाई हरियो पत्तीको भुक्तानी दिन समेत समस्या देखिएको व्यवसायीहरूको भनाइ छ । कुल चिया निर्यातको ९० देखि ९५ प्रतिशत हिस्सा भारतीय बजारमा जाने गरेको छ ।
इलाममा मात्रै वार्षिक ६५ लाख किलो चिया उत्पादन हुन्छ भने झापामा करिब २ करोड किलो चिया उत्पादन हुने गरेको छ । अहिले भारत नै चियाको प्रमुख बजार भएकाले पटक–पटक यस्ता अनेक समस्या झेल्नुपर्ने र चिया उद्योग नै संकटमा पर्ने गरेको छ । त्यसैले, सरकारले हालको समस्या समाधानका लागि विशेष पहल गर्न अति जरुरी भइसकेको छ ।
यसैगरी, चिया उद्योगमा दीर्घकालीन रूपमा भारतसँगको निर्भरता घटाउन कूटनीतिक पहल गर्नुका साथै व्यापार सम्झौता पुनरावलोकन तथा अन्तर्राष्ट्रिय बजार विस्तारलाई पनि प्राथमिकता दिनुपर्ने देखिन्छ । चियाको बजारीकरणका लागि भारतबाहेक पाकिस्तान, मध्यपूर्व, रुस तथा अन्य तेस्रो मुलुकमा बजार विस्तार गर्नुपर्ने आवश्यकता देखिएको छ । व्यवसायीका अनुसार, अर्थोडक्स चियाका लागि युरोप, अमेरिका र जापानमा सरकारी स्तरको प्रवद्र्धन आवश्यक रहेको छ ।


