सम्पत्ति शुद्धीकरणको विभागले नेकपा एमालेका प्रभावशाली नेता एवं उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णु पौडेललाई पक्राउ गरी अनुसन्धान थालेको छ । पौडेलले विवादास्पद व्यवसायी दीपक भट्टलागयतका व्यवसायीसँगको मिलेमतोमा अवैधरुपमा सम्पत्ति जोडेको आशंकामा विभागले पक्राउ गरी अनुसन्धान थालेको हो ।
विभागले अनुसन्धानमा पौडेलको गैरकानुनी सम्पत्ति र कारोबारको पर्याप्त प्रमाण संकलन भएपछि मात्रै पक्राउ गरेको खुलेको हो । सुर्खेतबाट सोमबार पक्राउ गरी सडकमार्ग हुँदै मंगलबार काठमाडौं ल्याएर विशेष अदालतमा उपस्थित गराइएका पौडेललाई सात दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ । उनलाई ललितपुरको प्रहरी प्रभाग पुल्चोकस्थित हिरासतमा राखिएको छ ।
पौडेलमाथि व्यवसायी दीपक भट्टलाई लाभ हुने गरी निर्णय गरेको र उनीसँगको साझेदारीको विषय जोडिएपछि अनुसन्धानको घेरामा परेका हुन् । आफ्नो नाममा जग्गाजमिन र सम्पत्ति नभए पनि अरूको नाममा सम्पत्ति व्यवस्थापन गरेर लाभ लिएको प्रमाण फेला परेको विभागको दाबी छ । विभागले पौडेलको नाममा तथा परिवारका सदस्यका नाममा रहेका सम्पत्ति, लगानी र सेयर कारोबारको स्रोतमाथि केन्द्रित रहेर अध्ययन गरिरहेको छ । अर्थमन्त्री भएका बेला पौडेलले बिचौलिया भट्टलगायतलाई सहयोग गरी आर्थिक लाभ लिएको प्रमाणहरू संकलन गरेको विभागले जनाएको छ । यसरी आर्जन गरेको सम्पत्ति विभिन्न कम्पनीमा अन्य व्यक्तिको नाममा राखेकोसमेत अनुसन्धानबाट खुलेको छ ।
अनुसन्धानका क्रममा श्रीराम टोबाको कम्पनीमा पौडेलको पैसामा भट्टले ३० करोड रुपैयाँबराबरको सेयर निःशुल्क लिएको खुलेको छ । सो सेयर तीन करोड ७५ लाख रुपैयाँमा खरिद गरेको देखिए पनि त्योभन्दा धेरै गुणा लाभांश लिइसकेको देखिन्छ । सो सेयर बिचौलिया भट्टको नाममा रहेको बताइन्छ । विभागले श्रीराम टोबाको कम्पनीका सञ्चालकसँग बयान गरेर यसको पुष्टि गरिसकेको जनाएको छ ।
यसैगरी, पौडेलले हिमालयन रिइन्स्योरेन्स र सातवटा लघुबिमालाई लाइसेन्स दिन सघाएको तथा सुपारी आयातमा सहजीकरण गरेबापत करोडौँको लाभ लिएको पनि अनुसन्धानमा खुलेको छ । बिचौलियाको प्रभावमा उनले ३० करोडभन्दा धेरै लाभ लिएको विभागको निष्कर्ष छ । त्यस्तै, बुटवलमा एक गाई फार्मको नाममा ३५ बिघा जग्गा भेटिएको छ । जुन जग्गा एक सामान्य व्यक्तिको नाममा लुकाएकोसमेत अनुसन्धानबाट पुष्टि भएको छ । सो फार्ममा मंगलबार विभागको टोली पुगेर विवरण संकलन गरेको छ ।
जनकपुर चुरोट कम्पनी निजीकरण गरेर नयाँ कम्पनीलाई दिने प्रक्रिया अघि बढाएबापत पनि उनले लाभ लिएको विभागको निष्कर्ष छ । अन्य काम गरे पनि जनकपुर चुरोट कम्पनीको लाइसेन्स अन्य कम्पनीलाई दिने प्रक्रियाको विषयमा भने मन्त्रिपरिषद्बाट निर्णय गराएर पनि कार्यान्वयन भइसकेको थिएन ।
पौडेलको गैरकानुनी सम्पत्ति र कारोबारको विषयमा पर्याप्त प्रमाण संकलन भएपछि मात्र पक्राउ गरिएको विभागले जनाएको छ । पक्राउअघि विभागले ललितपुरको भैँसेपाटीस्थित उनको निवासमा समेत छापा मारेर ल्यापटप, पेनड्राइभलगायत केही सामानसमेत नियन्त्रणमा लिइएको छ ।
सम्पत्ति शुद्धीकरणको कसुरमा पौडेललाई सात दिन थुनामा राखेर अनुसन्धान गर्न विशेष अदालतले अनुमति दिएको छ । अदालतमा पौडेलको पक्षमा कानुन व्यवसायीले हाजिरी जमानीमा छाड्नुपर्ने भन्दै बहस गरेका थिए । न्यायाधीशहरू नारायणप्रसाद पौडेल, हेमन्त रावल र उमेश कोइरालाको इजलासले पक्राउ पुर्जीको स्वीकृत दिई पहिलोपटकका लागि सात दिन म्याद थप गरेको हो ।
सरकारले हालै शंकर समूहका अग्रवालहरू, इन्फिनिटी होल्डिङ्सका दीपक भट्ट र हिमालयन रि–इन्स्योरेन्सका सञ्चालकहरूविरुद्ध धितोपत्र, बीमा र सम्पत्ति शुद्धीकरणका मुद्दा दायर गरेको छ । अनुसन्धानका क्रममा व्यवसायीहरूको बयानबाट पौडेलको बिचौलिया भूमिका खुलेपछि उनलाई पक्राउ गरिएको हो ।


