चालु आर्थिक वर्षको जेठ महिनासम्ममा जीवन बीमा कम्पनीहरुको नवीकरण बीमाशुल्कमा वृद्धि भएको देखिएको छ । नेपाल बीमा प्राधिकरणले बुधबार सार्वजनिक गरेको जीवन बीमा कम्पनीहरूको व्यावसायिक तथ्यांकअनुसार चालु आवको ११ महिनामा नवीकरण बीमाशुल्क आर्जन ११.६३ प्रतिशतले वृद्धि भएको पाइएको हो ।
चालू आवको जेठ मसान्तसम्म जीवनबीमा कम्पनीहरुको यस्तो शुल्क बढेर १ खर्ब ३३ अर्ब ९१ करोड ३३ लाख रुपैयाँ नाघेको छ । गत आवको जेठ मसान्तसम्म कम्पनीहरुले १ खर्ब १९ अर्ब ९६ करोड ७ लाख रुपैयाँ नवीकरण बीमाशुल्क आर्जन गरेका थिए । कम्पनीहरूले बीमितलाई पोलिसी बिक्री गरेपछि उक्त पोलिसी सक्रिय राख्नका लागि निश्चित अवधिसम्म नवीकरण बीमाशुल्क उठाउने गर्दछन् ।
तथ्यांकअनुसार, समीक्षा अवधिमा नेपाल लाइफले सर्वाधिक ३५ अर्ब ९९ करोड ७५ लाख रुपैयाँ नवीकरण बीमाशुल्क आर्जन गरेको देखिएको छ । यस कम्पनीले गत वर्ष ३२ अर्ब ७९ करोड ५४ लाख रुपैयाँ नवीकरण बीमाशुल्क आर्जन गरेको थियो । त्यसपछि नेशनल लाइफले १६ अर्ब ५७ करोड ५१ लाख रुपैयाँ, एलआईसी नेपालले १५ अर्ब ४९ करोड ३८ लाख रुपैयाँ, हिमालयन लाइफले १३ अर्ब ५४ करोड ६० लाख रुपैयाँ नवीकरण बीमाशल्क आर्जन गरेको छ ।
यसैगरी, सरकारी स्वामित्वको राष्ट्रिय जीवन बीमा कम्पनीले ९ अर्ब ५० करोड ३९ लाख रुपैयाँ, सूर्यज्योति लाइफले ७ अर्ब ७१ करोड ९४ लाख रुपैयाँ र एशियन लाइफले ६ अर्ब ५९ करोड ३५ लाख रुपैयाँ नवीकरण बीमाशुल्क उठाएका छन् । त्यस्तै, सिटिजन लाइफले ५ अर्ब १४ करोड ३६ लाख रुपैयाँ, सानिमा रिलयान्स लाइफले ४ अर्ब ८२ करोड ३९ लाख रुपैयाँ, मेट लाइफले ४ अर्ब ६६ करोड ९ लाख रुपैयाँ, प्रभु महालक्ष्मी लाइफले ३ अर्ब ६१ करोड ४३ लाख रुपैयाँ, रिलायबल नेपाल लाइफले ३ अर्ब ५७ करोड ३७ लाख रुपैयाँ र सन नेपाल लाइफले २ अर्ब ७५ करोड ७१ लाख रुपैयाँ नवीकरण बीमाशुल्क आर्जन गरेको विवरणमा उल्लेख छ ।
वृद्धिदरको आधारमा हेर्दा आईएमई लाइफको सर्वाधिक २२.६८ प्रतिशतले वृद्धि भएको छ भने राष्ट्रिय जीवन बीमाको २०.३० प्रतिशतले बढेको पाइएको छ । त्यस्तै, नेशनलको १८.४९ प्रतिशत, रिलायबलको १८.३६ प्रतिशत, सिटिजनको १६.८६ प्रतिशत, सन नेपालको १६.३२ प्रतिशत र सानिमा रिलायन्सको १५.०७ प्रतिशतले यस्तो बीमाशुल्क आर्जन वृद्धि भएको तथ्यांक छ ।
प्राधिकरणको तथ्यांकअनुसार, प्रभु महालक्ष्मी लाइफको १४.७१ प्रतिशत, सूर्यज्योति लाइफको १२.६२ प्रतिशत, नेपाल लाइफको ९.७६ प्रतिशत, मेट लाइफको ८.७३ प्रतिशत, एशियन लाइफको ८.५५ प्रतिशत, हिमालयन लाइफको ४.९५ प्रतिशत र एलआईसी नेपालको ४.४७ प्रतिशतले नवीकरण बीमाशुल्कमा बढोत्तरी भएको छ ।


