हिमालय पार्टनर लिमिटेडले १३औं वार्षिक साधारण सभा असार ३२ गते बोलाएको छ । कम्पनीको असार १० गते बसेको सञ्चालक समितिको बैठकको निर्णयले सो सभा अम्रपाली ब्यांक्वेट, बालुवाटार, काठमाडौंमा बोलाएको हो ।
सो सभाले सञ्चालक समितिको आर्थिक वर्ष २०८१/०८२ को वार्षिक प्रतिवेदन पारित गर्ने, वार्षिक आर्थिक विवरण, लेखापरीक्षकको प्रतिवेदनसहितको २०८२ आषाढ मसान्तको वासलात पारित गर्नेछ । त्यस्तै, २०८१ श्रावण १ देखि २०८२ आषाढ मसान्तसम्मको नाफा नोक्सान हिसाब र सोही अवधिको नगद प्रवाह विवरणसम्बन्धी विषयमा छलफल गरी स्वीकृत गर्ने लगायतका प्रस्ताव पारित गर्नेछ ।
त्यस्तै, आर्थिक वर्ष २०८२/०८३ का लागि लेखापरीक्षक नियुक्ति गर्ने र निजको पारिश्रमिक तोक्ने, कम्पनीले सामाजिक उत्तरदायित्वअन्तरगत गरेको आर्थिक सहयोग रकम १ लाख ४३ हजार रुपैयाँलाई अनुमोदन गर्ने प्रस्ताव पारित गर्नेछ ।
सो सभा प्रयोजनका लागि कम्पनीले असार १८ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ । यसर्थ, असार १७ गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीले सो सभामा भाग लिन योग्य हुनेछन् ।


