धितोपत्र र बीमा कसुरको आरोपमा करिब आधा दर्जन इन्स्योरेन्स कम्पनीका प्रमुखहरु निलम्बनमा परेका छन् । उनीहरुविरुद्ध फौजदारी मुद्दा दायर भएसँगै नेपाल बीमा प्राधिकरणले रिक्त भएको कम्पनीका प्रमुख कार्यकारी अधिकृत(सिईओ) र कामु सिईओ छनोट गरेर काम कारवाही सक्रिय रुपमा सुचारु गर्न नेपाल बीमा प्राधिकरणले निर्देशन दिएको छ । प्राधिकरणले निलम्बनमा परेका पाँच लघुबीमा कम्पनीहरुलाई तत्काल विशेष साधारणसभा बोलाउन निर्देशन दिएको हो ।
बीमा कम्पनीका अध्यक्ष, सञ्चालक, सीईओसहित करिब ६० जना विरुद्ध फौजदारी मुद्दा दायर गरिएको छ । मुद्दा दायर भएसँगै बीमा ऐनअनुसार उनीहरू पदमा रहन नपाउने व्यवस्था लागू भएको छ । दुई साता बढी समय बितिसक्दा पनि कम्पनीमा कामु सिईओसमेत नियुक्त गर्ने छाँटकाँट नदेखाएका कम्पनीहरुमा कर्मचारीहरुको पनि चर्को दबाब रहेको छ । यसले गर्दा कतिपय बीमा कम्पनीहरुमा दैनिक काम कारवाहीमा समस्या देखिन थालेको छ । कम्पनीका कर्मचारीहरुले प्राधिकरणमा समेत उजुरी दिन थालेपछि प्राधिकरणले कम्पनीमाथि निगरानी राख्दै यस्तो निर्देशन दिएको हो ।
प्राधिकरणले निलम्बनमा रहेका हिमालयन रि–इन्स्योरेन्स, बीमा कम्पनीदेखि लघुबीमा कम्पनीमा कामु सिईओदेखि सिईओ नियुक्तिको लागि निर्देशन दिएको छ । निलम्बनमा परेका पाँच लघुबीमा कम्पनीहरुलाई कम्पनीको कारवाही नरोक्न व्यवस्थित रुपमा अघि बढाउन तत्काल विशेष साधारणसभा गर्न निर्देशन दिएको हो । ती बीमा कम्पनीका अध्यक्ष, सञ्चालक तथा सीईओसमेत विभिन्न कसुरमा निलम्बनमा पर्दा त्यसको प्रत्यक्ष प्रभाव कम्पनीमा देखिएको छ ।
प्राधिकरणले गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स, प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्स, लिबर्टी माइक्रो लाइफ इन्स्योरेन्स, क्रेस्ट माइक्रो इन्स्योरेन्स, नेपाल माइक्रो इन्स्योरेन्सका अधिकारीहरूलाई कम्पनी ऐनको दफा ८२ मा भएको व्यवस्था अनुसार विशेष साधारणसभा गर्न आग्रह गरको हो । साथै प्राधिकरणको सुशासन निर्देशिकाको निर्देशन ३३ को उपनिर्देशन ३ को कार्यान्वयनका लागि निर्देशन दिएको छ ।
कम्पनीको चुक्ता पुँजीको कम्तीमा १० प्रतिशत सेयर लिने शेयरधनीहरु वा शेयरधनीहरुको कम्तीमा २५ प्रतिशत शेयरधनीहरुले कारण खुलाई ३० दिनभित्र बस्ने गरी कम्पनीको विशेष साधारण सभा बस्ने व्यवस्था अन्तर्गत उक्त निर्देशन दिएको हो ।
सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले जेठ २८ गते बीमा क्षेत्रमा सबैभन्दा धेरै उच्च पदाधिकारीहरु सहितको बीमा र धितोपत्र कसुरको मुद्दा लागेपछि यति बेला आधा दर्जन बीमा कम्पनीहरुको दैनिक कामकारवाहीमा समस्या देखिन थालेको हो ।
धितोपत्र बजारसम्बन्धी मुद्दाले यति बेला सबैभन्दा ठूलो धक्का लघु बीमा क्षेत्रमा पुगेको छ । गार्डियन माइक्रो लाइफ इन्स्योरेन्समा सञ्चालक त्रिशिला झुनझुनवाला, डा. जयप्रकाश जैसवाल, उदयनारायण भट्टराई, प्रमोद प्रसाद भट्टराई, ज्योति अग्रवाल र नवराज मुडभरी निलम्बित भएका छन् ।
त्यस्तै, अध्यक्ष उदिप श्रेष्ठ, प्रमुख कार्यकारी अधिकृत (सीईओ) चिरायु भण्डारी, नायब प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) ज्योतिप्रसाद पाण्डे तथा लगानी सदस्य समीर खरेल पनि फौजदारी अभियोगमा मुछिएपछि निलम्बनमा परेका छन् । यससँगै कम्पनीमा निर्णय गर्ने अधिकारयुक्त नेतृत्व लगभग रिक्त बनेको छ ।
प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सका अध्यक्ष किर्तिका अग्रवाल, सञ्चालक दिनेश सरिया, नितेश मालपानी, निरु दाहाल, गणेशराज पन्त तथा सञ्चालक सदस्य भानुभक्त पोखरेलविरुद्ध पनि मुद्दा दायर भएको छ ।
सीईओ नरेशकुमार रोका समेत निलम्बित भएपछि कम्पनीको दैनिक प्रशासन, वित्तीय निर्णय र रणनीतिक काम प्रभावित भएको कम्पनी स्रोत बताउँछ ।
उता, क्रेस्ट माइक्रो इन्स्योरेन्समा सञ्चालक विदुर पुरी, मृदुला सरिया, विनोद नरसिंह श्रेष्ठ, ईश्वरलाल श्रेष्ठ, सुनिता महर्जन तथा लगानी संयोजक रोहित करण वैद्य निलम्बनमा परेका छन् । सीईओ प्रतापमान श्रेष्ठ पनि निलम्बित भएपछि कम्पनीको नेतृत्व शून्यजस्तै बनेको छ ।
सञ्चालक बलराम खत्री, नेहा अग्रवाल, आशिष सिंह तथा सीईओ रामकुमार यादवविरुद्ध मुद्दा दायर भएपछि सबै निलम्बित भएका छन् ।
नेपाल माइक्रो इन्स्योरेन्सका सञ्चालक सिद्धान्त झुनझुनवाला, लतिका गोल्यान, बद्री सिग्देल, प्रविना दाहाल तथा सीईओ मृगेन्द्रनाथ रिमाल पनि मुद्दा दायर भएसँगै निलम्बनमा परेका छन् । यस कम्पनी पनि अहिले प्रभावकारी नेतृत्वविहीन अवस्थामा पुगेको छ ।
लामो समयदेखि रिक्त रहेको बीमा कम्पनीमा अध्यक्ष, सञ्चालक र सीईओ एकैपटक निलम्बित हुँदा पनि कामु सिईओसम्म नियुक्त गर्न ढिलाइ गरेसँगै प्राधिकरणले यो कदम चालेको हो ।


