Banijya News

पारामाउन्ट मोटर्सको नौ महिनामा साढे २ अर्बको कारोबार

1
1.0K Shares

नेपाली बजारमा मोरिस ग्यारेज (एमजी) ब्रान्ड गाडी बेच्ने पारामाउन्ट मोटर्स प्रालिले चालु आर्थिक वर्षको नौ महिनाको अवधिमा साढे २ अर्ब रुपैयाँको कारोबार गरेको छ । कम्पनीले चालु आवको नौ महिनाको अवधिमा २ अर्ब ४० करोड ७० लाख रुपैयाँको कारोबार गरेको हो ।
कम्पनीले गत आवमा ३ अर्ब ८६ करोड ५० लाख रुपैयाँ, सन् २०२४ मा ४ अर्ब १२ करोड ५० लाख रुपैयाँ, सन् २०२३ मा २ अर्ब ७ करोड ६० लाख रुपैयाँ र सन् २०२२ मा ३ अर्ब ४७ करोड रुपैयाँको कारोबार गरेको थियो ।

कम्पनीको कारोबार गत आवमा ६ प्रतिशतले घटेको थियो । कम्पनीले गत आवको मार्चमा नयाँ मोडल एमजी एसफाइभ सार्वजनिक गरेको थियो । उक्त मोडलको गाडी सार्वजनिक गरेसँगै गत आवको कुल आम्दानीमा ४२ प्रतिशत योगदान गरेको छ ।

त्यस्तै, कम्पनीले हालै सार्वजनिक गरिएको नयाँ मोडल एमजी एस६ले आगामी दिनमा आम्दानी बढाउने अपेक्षा गरेको छ । कम्पनीको नाफा मार्जिन गत आवमा घटेर ५.२ मा सीमित भएको छ । सन् २०२४ मा नाफा मार्जिन ६.८ प्रतिशत थियो । त्यस्तै, चालु आवको ९ महिनाको अवधिमा नाफा मार्जिनमा सुधार आई ६ प्रतिशत पुगेको छ ।

कम्पनीको चालु आवको ९ महिनाको अवधिमा कुल बाह्य दायित्व तथा ट्यान्जिबल नेटवर्थ अनुपात २.८ गुणा रहेको छ । कुल ऋण तथा सञ्चालन नाफा अनुपात ९.२ गुणा रहेको छ । कम्पनीको गत आवमा ब्याज भुक्तानी क्षमता अनुपात १.७ गुणा रहेकोमा चालु आवमा घटेर १.३ गुणामा झरेको छ ।

सन् २०१६ मा स्थापना भएको कम्पनी नेपालको लागि एमजी ब्रान्डको गाडी बेच्ने आधिकारिक बिक्रेता हो । कम्पनी चीनको आइक मोटर्स कर्पोरेशनसँग सम्झौता गरी नेपालमा गाडी आयात गर्दै आएको छ ।

कम्पनीले सन् २०२० देखि माज्दा ब्रान्डको सवारी साधन पनि बिक्री वितरण गर्दै आएको छ । कम्पनीले जापानको माज्दा मोटर्स कर्पोरेनसँग सम्झौता गरी नेपालका लागि आधिकारिक बिक्रेताको अनुमति लिएको छ ।

कम्पनीका अनुसार, हालै सार्वजनिक गरेको विद्युतीय सवारी साधन वुलिङ ब्रान्डको नयाँ मोडलहरु सार्वजनिक गर्ने सहमति गरेको छ । उक्त मोडलहरुमा राम्रो प्राविधिक विशेषताहरू रहेका छन् र बजारमा प्रतिस्पर्धाहरू पनि सीमित छन् । जसले आगामी दिनमा कम्पनीको आम्दानी वृद्धि हुने अपेक्षा गरेको छ ।

कम्पनीले आफ्नो व्यवसाय विस्तार रणनीतिअन्तर्गत नेपालमा मर्सिडिज बेन्च ब्रान्डका सवारी साधनका लागि नयाँ आधिकारिक सेवा केन्द्र स्थापना गर्ने योजना बनाएको छ । उक्त योजनाअनुसार आगामी दिनमा थप आम्दानी वृद्धि हुने अपेक्षा गरेको छ । कम्पनीको देशभर आफ्नै ३ वटा शोरुम छन् भने १५ वटा डिलर छन् ।

1

Scroll to Top