नेपालमा सञ्चालित निर्जीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्षको ११ महिनामा साढे ४५ अर्बभन्दा बढीको व्यापार गर्न सफल भएका छन् । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्यांकअनुसार, चालु आर्थिक वर्ष २०८२/०८३ को जेठ महिनासम्ममा १४ निर्जीवन बीमा कम्पनी र चारवटा लघु निर्जीवन बीमा कम्पनीहरुले ४५ अर्ब ५८ करोड ३४ लाख रुपैयाँ बराबरको कुल बीमा शुल्क संकलन गरेका हुन् ।
अहिले सञ्चालित १४ वटा निर्जीवन बीमक र ४ वटा लघु निर्जीवन बीमकले सबैभन्दा बढी मोटर बीमातर्फ १३ अर्ब ७८ करोड ६८ लाख रुपैयाँ व्यापार गर्न सफल भएका छन् । त्यस्तै, कम्पनीहरुको दोस्रो धेरै व्यापार सम्पत्ति बीमातर्फ देखिएको छ । समीक्षा अवधिसम्म कम्पनीहरुले सम्पत्ति बीमातर्फ १० अर्ब ७७ करोड १४ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेका छन् ।
यसैगरी, यी बीमा कम्पनीहरुले इन्जिनियरिङ तथा ठेक्का जोखिम बीमामार्फत समीक्षा अवधिसम्म ८ अर्ब ६३ करोड १७ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका छन् ।
चालु आर्थिक वर्षको जेठसम्म कम्पनीहरुले विविध बीमातर्फ ४ अर्ब ५५ करोड ८१ लाख रुपैयाँ, सामुद्रिक बीमातर्फ २ अर्ब ८० करोड ४० लाख रुपैयाँ, हवाई बीमातर्फ २ अर्ब २८ करोड ४८ लाख रुपैयाँ आर्जन गर्न सफल भएका छन् । त्यस्तै, कृषि तथा बाली बीमातर्फ १ अर्ब ५३ करोड ७३ लाख रुपैयाँ र लघु बीमातर्फ १ अर्ब २० करोड ८९ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको प्राधिकरणले जनाएको छ ।
चालु आर्थिक वर्षको जेठसम्ममा कम्पनीहरुको कुल व्यापारमा मोटर बीमाको सर्वाधिक ३०.२५ प्रतिशत हिस्सा देखिएको छ । त्यस्तै, कुल व्यापारमा सम्पत्तितर्फ २३.६३ प्रतिशत, इन्जिनियरिङ तथा ठेक्का जोखिमतर्फ १८.९४ प्रतिशत हिस्सा रहेको छ । त्यस्तै, विविधतर्फ १० प्रतिशत, सामुद्रिकतर्फ ६.१५ प्रतिशत, हवाईतर्फ ५.०१ प्रतिशत, कृषि तथा बालीतर्फ ३.३७ प्रतिशत र लघुतर्फ २.६५ प्रतिशत रहेको तथ्यांक छ ।
प्राधिकरणको तथ्यांकअनुसार, चालु आर्थिक वर्ष २०८२/०८३ को ११ महिनाको अवधिमा १४ निर्जीवन बीमा कम्पनीहरुले ४४ अर्ब ३८ करोड ६४ लाख रुपैयाँ बराबरको कुल बीमा शुल्क आर्जन गरेका छन् । निर्जीवन बीमा कम्पनीहरुको कुल बीमा शुल्क आर्जन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १३.७१ प्रतिशतले बढी हो । कम्पनीहरुले गत आर्थिक वर्षको ११ महिनाको अवधिमा ३९ अर्ब ३ करोड ४४ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेका थिए ।
चालु आवको जेठ महिनासम्ममा शिखर इन्स्योरेन्सले सर्वाधिक पाँच अर्ब ६२ करोड ६३ लाख रुपैयाँ बराबरको बीमा व्यवसाय गरेको छ । त्यस्तै, सगरमाथा लुम्बिनी इन्स्योरेन्सको आय बढेर चार अर्ब ७७ करोड ३९ लाख रुपैयाँ पुगेको छ । समीक्षा अवधिमा हिमालयनको व्यवसाय चार अर्ब ७६ करोड पुगेको छ भने एनएलजी इन्स्योरेन्सको तीन अर्ब ७३ करोड रुपैयाँ पुगेको विवरणमा उल्लेख छ ।
यसैगरी, सिद्धार्थ प्रिमियरको तीन अर्ब ९२ करोड, आईजीआई प्रुडेन्सियलको तीन अर्ब ९१ करोड र नेको इन्स्योरेन्सको तीन अर्ब २८ करोड पुगेको छ । त्यस्तै, द ओरियन्टलको दुई अर्ब ८० करोड, युनाइटेड अजोडको दुई अर्ब ७६ करोड र सानिमा जिआईसीको दुई अर्ब ५५ करोड पुगेको छ । त्यस्तै, नेपाल इन्स्योरेन्सको एक अर्ब ९७ करोड, प्रभु इन्स्योरेन्सले एक अर्ब ६४ करोड, राष्ट्रिय बीमा कम्पनीले एक अर्ब ४२ करोड र नेशनल लाइफले एक अर्ब १९ करोड रुपैयाँ कुल बीमा शुल्क आर्जन गर्न सफल भएका छन् ।
प्राधिकरणको तथ्यांकअनुसार, निर्जीवन बीमा कम्पनीहरूले जेठ महिनामा मात्रै ४ अर्ब ९ करोड ६ लाख रुपैयाँमाथिको बीमा व्यवसाय गरेका छन् । गत आर्थिक वर्षको सोही अवधिमा यी नै कम्पनीहरूले ३ अर्ब ९३ करोड ६३ लाख रुपैयाँमाथिको बीमा व्यवसाय गरेका थिए ।
यसैगरी, चारवटा निर्जीवन लघुबीमा कम्पनीहरुले चालु आर्थिक वर्षको ११ महिनामा एक अर्ब १९ करोड ६९ लाख रुपैयाँभन्दा बढी कुल बीमा शुल्क आर्जन गरेका छन् । प्राधिकरणले सार्वजनिक गरेको तथ्यांकअनुसार सञ्चालित चार वटा निर्जीवन लघुबीमा कम्पनीहरुमध्ये प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सले सर्वाधिक बीमाशुल्क आर्जन गर्न सफल भएको छ । यस कम्पनीले समिक्षा अवधिमा ३४ करोड ६ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ ।
त्यसैगरी, नेपाल माइक्रो इन्स्योरेन्सले यस अवधिमा २९ करोड ७३ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गर्न सफल भएको छ । स्टार माइक्रो इन्स्योरेन्सले २८ करोड ५३ लाख रुपैयाँभन्दा बढी कुल बीमाशुल्क आर्जन गरेको छ । त्यस्तै, ट्रष्ट माइक्रो लाइफ इन्स्योरेन्सले २७ करोड ३५ लाख रुपैयाँभन्दा बढीको कुल बीमाशुल्क आर्जन गर्न सफल भएको छ ।


