नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपाल (नाडा) को ५०औं वर्ष प्रवेश (स्वर्ण उत्सव) को भव्य उद्घाटन समारोह काठमाडौँमा सफलतापूर्वक सम्पन्न भएको छ। नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अन्जन श्रेष्ठको प्रमुख आतिथ्यतामा आयोजित यस विशेष समारोहले संस्थाको आधा शताब्दीको गौरवमय यात्रालाई उजागर गरेको छ।
वि.सं. २०३२ सालमा स्वर्गीय तोलाराम दुगडद्वारा काठमाडौँमा स्थापना गरिएको नाडाले आफ्नो यो ऐतिहासिक स्वर्ण जयन्तीलाई अविस्मरणीय बनाउन विभिन्न रचनात्मक कार्यक्रमहरू तय गरेको छ। यसै सिलसिलामा त्रिपुरेश्वरस्थित दशरथ रंगशालादेखि दरबारमार्गको होटल याक एण्ड यतिसम्म एक विशेष ‘वाकाथन’ पैदल यात्रा) कार्यक्रम समेत आयोजना गरियो, जसमा नाडाका पूर्व अध्यक्षहरू, केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य कम्पनीका प्रतिनिधिहरू र पत्रकारहरूको उत्साहजनक सहभागिता रहेको थियो। यही समारोहका बीच संस्थाको विकासमा महत्त्वपूर्ण योगदान पुर्याउने पूर्व अध्यक्षहरूलाई विशेष सम्मान समेत अर्पण गरिएको छ।
यो ऐतिहासिक स्वर्ण उत्सव महोत्सव मिति २०८३ असार १३ गतेदेखि १९ गतेसम्म विभिन्न विविध कार्यक्रमहरूका साथ राजधानी लगायत मुलुकका सातै प्रदेशमा सप्ताहव्यापी रूपमा मनाइँदैछ। विगत ५० वर्षको यस यात्रामा नाडाले २३ वटा अधिवेशनहरू सफलतापूर्वक सम्पन्न गरिसकेको छ भने २१ जना अध्यक्षहरूले यस संस्थाको कुशल नेतृत्व सम्हालिसकेका छन्।
व्यावसायिक गतिविधिका साथै संस्थाले बौद्धिक एवं सूचनामूलक प्रकाशनलाई पनि निरन्तरता दिँदै आएको छ, जस अन्तर्गत हालसम्म ३६औं संस्करणको ‘नाडा अटोमोवाइल ट्रेड डाइरेक्ट्रीु’ ५१औं संस्करणको ‘नाडा अटो न्यूज’ र १८औं संस्करणको ‘नाडा अटो ड्राइभ क्यालेण्डर’ प्रकाशित भइसकेका छन्। यसैगरी नाडाले आउँदो भदौ महिनामा आफ्नो प्रतिष्ठित १८औं संस्करणको ‘नाडा अटो शो’ समेत आयोजना गर्ने तयारी गरिरहेको छ।
सन् २०१५ देखि कानुनी रूपमा थप सुदृढ बनेको नाडा नेपाल उद्योग वाणिज्य महासंघमा आवद्ध वस्तुगत संघहरूमध्ये उत्कृष्ट कार्यसम्पादनकै कारण पटक-पटक ‘उत्कृष्ट वस्तुगत एशोसिएशन’ को पुरस्कारबाट सम्मानित भइसकेको छ। व्यवसायिक हकहितको संरक्षण गर्नुका साथै नाडाले आफ्नो सामाजिक उत्तरदायित्व लाई समेत उत्तिकै जिम्मेवारीपूर्वक वहन गर्दै आएको छस जस अन्तर्गत देशव्यापी रूपमा विभिन्न सामाजिक महत्त्वका कार्यक्रमहरू सञ्चालन गरिएका छन् भने राष्ट्रिय विपत्तिका समयमा संस्थाले अग्रपंक्तिमा रहेर सहयोगी भूमिका निर्वाह गर्दै आएको छ।
यस भव्य स्वर्ण उत्सव महोत्सव कार्यक्रमको सफलतापूर्वक संयोजन तथा धन्यवाद ज्ञापन नाडाका उपाध्यक्ष विक्रम सिंघानियाले गर्नुभएको थियो भने कार्यक्रमको कुशल सञ्चालन महासचिव मिलनबाबु मल्लले गर्नुभएको थियो।


