पछिल्लोे २४ घण्टामा ट्राफिक प्रहरीले सडक अनुशासन पालना नगर्ने एक हजार ५९२ सवारीसाधनलाई कारबाही गरेको छ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयको टोलीले ती सवारीसाधन कारबाही गर्दा रु २० लाख २४ हजार ५६१ राजस्व संकलन गरेको छ ।
कार्यालयका प्रवक्ता नरेशराज सुवेदीका अनुसार, विगत २४ घण्टामा मादक पदार्थ सेवन गरी सवारी चलाउने ७३ जना, राइड सेयरिङ गर्ने ८७ जना, रातो बत्ती पालना नगर्ने ७४ जना, तीव्र गतिमा चलाउने ७८ जना, लेन अनुशासन पालना नगर्ने ४७ जनालाई कारबाहीमा परेका छन् ।
यस्तै, गाडीमा कालो सिसाको प्रयोग गर्ने ८७ जना, नो हर्नमा ५६ जना, एकतर्फी बाटो भएको ठाउँमा सवारी लैजाने ३२ जना र अन्य कसुरमा एक हजार ५८ जनालाई कारबाही गरिएको ट्राफिक प्रहरीले जनाएको छ ।
पछिल्लो समय काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयको टोलीले उपत्यकाभित्र ट्राफिक अनुशासन पालना नगर्ने सवारीसाधनलाई तीव्र रुपमा कारबाही गर्दै आएको छ ।


