पछिल्लो समयमा बैंकिङ प्रणालीमा तरलता निरन्तर बढ्दो छ । पर्याप्त तरलता भए पनि निजी क्षेत्रबाट कर्जाको माग अपेक्षाअनुसार बढ्न सकेको छैन । यसले गर्दा बैंकहरूले निक्षेपको ब्याजदर घटाउँदै आएका छन्, जसले गर्दा आधार दर पनि निरन्तर घट्दै गएको छ ।
चालु आर्थिक वर्षको वैशाख, जेठ र असार महिनाको औसतका आधारमा वाणिज्य बैंकहरूको औसत आधार दर पहिलो पटक ५ प्रतिशतभन्दा तल झरेर ४.९७ प्रतिशत कायम भएको छ । बैंकहरूले आधार दरमा कर्जाको प्रकृतिअनुसार करिब १.५ प्रतिशतदेखि ५ प्रतिशतसम्म प्रिमियम थपेर अन्तिम ब्याजदर निर्धारण गर्ने भएकाले बेस रेट घट्दा समग्र कर्जाको लागत पनि क्रमशः सस्तो हुने देखिएको छ । आधार दरमा आएको यो गिरावटसँगै नयाँ कर्जा लिने तथा परिवर्तनीय ब्याजदरमा रहेका ऋणीले आगामी महिनादेखि ब्याजदरमा केही राहत पाउने अवस्था बनेको छ ।
चालु आर्थिक वर्षको ११ महिनामा वाणिज्य बैंकहरूले ७ खर्ब २३ अर्ब रुपैयाँभन्दा बढी निक्षेप संकलन गरेका छन् । तर, सोही अवधिमा कर्जा विस्तार २ खर्ब ८९ अर्ब रुपैयाँमा मात्र सीमित रहेको तथ्यांकले बैंकमा लगानीयोग्य रकम प्रशस्त भए पनि निजी क्षेत्रको लगानी उत्साह अझै पूर्ण रूपमा फर्किन नसकेको देखाउँछ ।
पछिल्लो तीन महिनाको औसत आधार दरअनुसार स्ट्याण्डर्ड चार्टर्ड बैंकको सबैभन्दा कम ४.२१ प्रतिशत बेस रेट रहेको छ । त्यसपछि राष्ट्रिय वाणिज्य बैंकको ४.२२ प्रतिशत, एभरेष्ट बैंकको ४.३८ प्रतिशत, नबिल बैंकको ४.५३ प्रतिशत रहेको छ । त्यस्तै, नेपाल बैंकको आधार दर ४.५९ प्रतिशत, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको ४.७५ प्रतिशत, ग्लोबल आईएमई बैंकको ४.८३ प्रतिशत, कृषि विकास बैंकको ४.९४ प्रतिशत र सानिमा बैंकको ४.९९ प्रतिशत आधार दर रहेको छ ।
तर, ११ वटा वाणिज्य बैंकको आधार दर भने ५ प्रतिशतभन्दा माथि रहेको छ । उच्च आधार दर भएका बैंकबाट कर्जा लिँदा ग्राहकले तुलनात्मक रूपमा बढी ब्याज तिर्नुपर्ने हुन सक्छ । सबैभन्दा उच्च आधार दर एनआईसी एशिया बैंकको ६.०४ प्रतिशत रहेको छ भने हिमालयन बैंकको ५.३९ प्रतिशत रहेको छ ।


