पछिल्ला महिनाहरूमा अन्तर्राष्ट्रिय हवाई सम्पर्क विस्तार, पर्यटन प्रवद्र्धन अभियान साथै नेपालको सुरक्षित र आकर्षक गन्तव्यको छविका कारण पर्यटक आगमनमा निरन्तर सुधार देखिएको छ । सन् २०२६ को जुन महिनामा मात्र ९१ हजार ३६३ विदेशी पर्यटक भित्रिएका छन् ।
नेपाल पर्यटन बोर्ड (एनटीबी) ले सार्वजनिक गरेको अध्यागमन विभागको तथ्यांकअनुसार जुनमा हवाई मार्गबाट आउने पर्यटकमा गत वर्षको तुलनामा १९.५ प्रतिशत वृद्धि देखिएको हो । गत वर्षको सोही महिनाको अवधिमा ७६ हजार ४२५ जनाले नेपाल भ्रमण गरेका थिए । त्यसैगरी, कोभिड–१९ महामारीअघि सर्वाधिक पर्यटन गतिविधि रहेको सन् २०१९ को जुन महिनामा ७४ हजार ८८३ पर्यटक नेपाल भ्रमणमा आएका थिए ।
जुन महिनामा नेपाल आउने पर्यटकमध्ये सबैभन्दा धेरै दक्षिण एसियाली (सार्क) मुलुकबाट ४८ हजार २५४ जना आएका छन् । जुन कुल आगमनको ५२.८ प्रतिशत हिस्सा हो । यसमध्ये भारतबाट मात्रै ४१ हजार ८०९ जना पर्यटक आएको तथ्यांक छ । अन्य एसियाली मुलुकबाट १६ हजार १५२ पर्यटक नेपाल आएका छन्, जुन कुल आगमनको १७.६८ प्रतिशत हो । उत्तरी छिमेकी मुलुक चीनबाट ८ हजार ८७५ पर्यटक नेपाल भ्रमणमा आएका छन् भने जापानबाट २ हजार ४९७, दक्षिण कोरियाबाट १ हजार ७६५ तथा थाइल्यान्डबाट ९८४ पर्यटक नेपाल आएको देखिएको छ ।
यसैगरी, युरोपबाट १३ हजार ११९ पर्यटक नेपाल भ्रमणमा आएको तथ्यांक छ । युरोपेली मुलुकमध्ये बेलायतबाट ३ हजार २६६, जर्मनीबाट १ हजार ८९२ र फ्रान्सबाट १ हजार २६७ पर्यटक आएका छन् । त्यस्तै, अमेरिकाबाट ६ हजार ९५४ पर्यटक नेपाल भ्रमणमा आएको विवरण छ, जुन कुल आगमनको ७.६१ प्रतिशत हो । यस अवधिमा क्यानडाबाट १ हजार २९८ तथा ब्राजिलबाट २१९ पर्यटक आएका छन् ।
त्यस्तै, ओसिनिया क्षेत्रबाट ३ हजार ९० जना पर्यटक नेपाल आएका छन् । यो संख्या गत वर्षको तुलनामा ५६.३५ प्रतिशत र सन् २०१९ को तुलनामा ५७.१७ प्रतिशतले बढी हो । यस क्षेत्रमा अस्ट्रेलियाबाट २ हजार ६९४ तथा न्यूजिल्यान्डबाट ३९० पर्यटक आएका छन् । अफ्रिकाबाट ६७४ तथा मध्यपूर्वबाट २९२ जना पर्यटक नेपाल भ्रमणमा आएको पाइएको छ ।
नेपाल वास्तवमै भ्रमणका लागि सुरक्षित गन्तव्यमध्ये एक हो । पर्यटन बोर्डका वरिष्ठ अधिकृत सन्तोषविक्रम थापाका अनुसार, पर्यटन प्रवद्र्धन अभियान र प्रमुख स्रोत बजारमा गरिएको प्रचारप्रसार मात्र नभएर नेपालको सुरक्षित र आकर्षक गन्तव्यको छविका कारण पर्यटक आगमनमा निरन्तर वृद्धि हुन थालेको हो । त्यसैले, आगामी पर्यटन सिजनमा अझ धेरै विदेशी पर्यटकहरुलाई नेपाल भ्रमण गराउने लक्ष्यसहित पर्यटन बोर्डले भारत, चीन, अमेरिका, युरोप तथा अन्य प्रमुख स्रोत बजारमा थप प्रवद्र्धनात्मक गतिविधि सञ्चालन गर्ने तयारी गरेको जनाएको छ ।


