Banijya News

रोकिएन रकमान्तर प्रवृत्ति, चालु आवमा २७ अर्ब हाराहारी रकमान्तर

1
1.1K Shares

आर्थिक वर्ष सकिन लाग्दा रकमान्तर गर्ने प्रवृत्ति अहिले पनि उस्तै रहेको छ । चालू आर्थिक वर्ष ०८२/८३ सकिन केही दिन मात्र बाँकी छ । अर्थ मन्त्रालयका अनुसार, आर्थिक वर्ष सकिन लाग्दा कुल २६ अर्ब ९३ करोड ७२ लाख रुपैयाँ रकमान्तर भएको छ ।

तीन खर्ब चार अर्ब रुपैयाँ विनियोजित पुँजीगत बजेटसँग तुलना गर्ने हो भने त्यसको ६.६१ प्रतिशत रकमान्तर भएको देखिन्छ । त्यस्तै, जेठ महिनासम्मको कुल पुँजीगत खर्च एक खर्ब ३२ अर्ब रुपैयाँको आधारमा हेर्ने हो भने यो वर्ष भएको कुल रकमान्तर पुँजीगततर्फ भएको खर्चको झन्डै २० प्रतिशत हाराहारी हुन आउँछ । रकमान्तरको सबैभन्दा ठुलो मार देशको विकास निर्माणमा पर्ने गरेको छ ।

विभिन्न भौतिक पूर्वाधार आयोजनाहरु सडक, पुल, खानेपानी वा अस्पताल निर्माणका लागि छुट्याइएको पुँजीगत बजेट समयमा खर्च हुन सक्दैन । तर, आर्थिक वर्ष सकिन लाग्दा अन्य विभिन्न शीर्षकमा रकमान्तर गर्ने गरिन्छ । यसले गर्दा स्थायी पूर्वाधार बन्नुपर्ने अर्बौं रुपैयाँ अनुत्पादक क्षेत्रमा खर्च हुन्छ । अर्थशास्त्रीका अनुसार, असारमै आएर रकमान्तर गर्ने कार्य पूर्णतः गलत छ । यसले बजेट प्रणाली नै ठिक नरहेको प्रमाणित गर्ने गर्छ ।

असारको पहिलो नौ दिनमै विभिन्न मन्त्रालय र निकायहरूले कुल ३५ करोड ५२ लाख १५ हजार रुपैयाँबराबरको बजेट रकमान्तर गरेका छन्‌ । पछिल्लो तीन महिनामा (वैशाख, जेठ र असारमा) मात्रै विभिन्न निकायबाट दुई अर्ब २७ करोडको रकमान्तर भएको छ । असार १ मा अर्थ मन्त्रालयअन्तर्गत अन्तर्राष्ट्रिय संघ तथा संस्थाको सदस्यता शुल्क, अनुदान तथा विविध शीर्षकमा २० करोड रुपैयाँ रकमान्तर गरिएको छ ।

त्यस्तै, गृह मन्त्रालयअन्तर्गत जिल्ला प्रशासन कार्यालयहरूका लागि तीन छुट्टाछुट्टै निर्णयमार्फत नौ करोड ४८ लाख नौ हजार रुपैयाँ रकमान्तर भएको छ । साथै, सशस्त्र प्रहरी बलका लागि ७० लाख रुपैयाँ तथा क्षेत्रीय सशस्त्र प्रहरी बल कार्यालयका लागि चार लाख रुपैयाँ रकमान्तर गरिएको अर्थको तथ्यांक छ । लोक सेवा आयोगले पनि असार १ मै आफ्नै प्रशासनिक खर्चसहितका कार्यक्रमका लागि तीन करोड ५० लाख रुपैयाँ रकमान्तर गरेको छ ।

त्यस्तै, असार १ मा निर्वाचन आयोगले निर्वाचन कार्यालयहरूको प्रशासनिक खर्चका लागि सात लाख ५० हजार रुपैयाँ स्थानान्तरण गरेको छ । असार ३ मा अध्यागमन विभागका लागि चार लाख ८३ हजार रुपैयाँ तथा राष्ट्रिय दलित आयोगका लागि एक लाख रुपैयाँ रकमान्तर भएको छ ।

यसैगरी, असार ५ मा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयअन्तर्गत सरकारी कानुनी निकायहरूमा बजेट सारिएको छ । महान्यायाधिवक्ताको कार्यालय, विशेष सरकारी वकिल कार्यालय र जिल्ला सरकारी वकिल कार्यालयहरूलाई समान ४०–४० लाख रुपैयाँ तथा उच्च सरकारी वकिल कार्यालयहरूलाई चार लाख रुपैयाँ रकमान्तर भएको छ ।

त्यसो त, अर्थ मन्त्रालय आफैँ पनि रकमान्तरमा अगाडि देखिएको छ । अर्थ मन्त्रालयले कुल तीन अर्ब ८६ करोड २० लाख १७ हजार रुपैयाँबराबरको बजेट रकमान्तर गरेको छ । रकमान्तरको ठुलो हिस्सा कर प्रशासन, भन्सार, वित्तीय व्यवस्थापन तथा पूर्वाधार परियोजनातर्फको खर्चमा केन्द्रित छ । तथ्यांकअनुसार, सबैभन्दा ठुलो रकमान्तर मिलिनियम च्यालेन्ज एकाउन्ट (एमसिए) नेपालका लागि गरिएको छ । गत चैत २५ मा एमसिए नेपाललाई दुई अर्ब ८९ करोड दुई लाख ८० हजार रुपैयाँ रकमान्तर गरिएको थियो ।

साथै, अन्तर्राष्ट्रिय संघ तथा संस्थाको सदस्यता शुल्क तथा विविध अनुदान शीर्षकमा २० करोड रुपैयाँ रकमान्तर गरियो । त्यस्तै, महालेखा नियन्त्रक कार्यालयका लागि पुस २३ मा १७ करोड ५९ लाख दुई हजार रुपैयाँ र भन्सार सुधार कार्यक्रमका लागि चैत २४ मा १४ करोड ८७ लाख ५० हजार रुपैयाँ रकमान्तर गरिएको थियो ।

1

Scroll to Top