सरकारले साबिकको शहरी विकास मन्त्रालयमातहत ५१ आयोजनालाई रुग्ण आयोजनाका रुपमा पहिचान गरेको छ । पूर्वाधार विकास मन्त्रालयले सार्वजनिक गरेको विवरण अनुसार रुग्ण आयोजना, ठेक्का तोडिएका परियोजना तथा प्रतिफलविहिन लगानीको समस्या समाधान गर्न अध्ययन गरी सिफारिससहितको प्रतिवेदन तयार पारिएको छ ।
शहरी विकास अन्तर्गत रुग्ण पहिचान भएका आयोजनासम्बन्धी प्रतिवेदन प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय पठाइएको समेत पूर्वाधार मन्त्रालयले उल्लेख गरेको छ । ५१ वटै रुग्ण आयोजनाको हालसम्मको अध्यावधिक कार्यप्रगति उपलब्ध गराउन सम्बन्धित निकायमा पत्राचार गरिएको छ । मन्त्रालयका अनुसार ठेक्का सम्झौतापछिको व्यवस्थापनसम्बन्धी कार्यविधिको परिमार्जन मस्यौदा समेत मन्त्रालयमा पेश भएको छ । रुग्ण आयोजना तथा प्रतिफलविहिन लगानीको औचित्य र निरन्तरताबारे सिफारिस गर्न कार्यदल गठन गरी प्रतिवेदन तयार पार्ने काम समेत जारी रहेको प्रगति सूचीमा उल्लेख गरिएको छ ।
त्यस्तै, मन्त्रालयले आयोजना छनोटदेखि भुक्तानीसम्मको प्रक्रिया डिजिटल रुपमा अनुगमन गर्न करार अनुगमन प्रणाली लागू गर्ने तयारी समेत गरिएको छ । सो अन्तर्गत अभिमुखीकरण सम्पन्न भएको प्रगति विवरणमा उल्लेख छ ।
मन्त्रालय मातहतका निकाय अन्तर्गत एक हजार १७३ ठेक्काको विवरण प्रणालीमा अध्यावधिक समेत गरिएको छ । बाँकी ठेक्काको सम्झौता, कार्यान्वयन प्रगति, भुक्तानी, भेरिएसन आदेश तथा माइलस्टोन सम्बन्धी विवरण अध्यावधिक गर्ने काम समेत जारी रहेको बताइएको छ । भेरिएसन आदेशलाई डिजिटल प्रणालीमार्फत व्यवस्थापन गर्ने र भुक्तानीलाई कार्य सम्पादन तथा माइलस्टोनसँग आबद्ध गर्ने प्रक्रिया समेत अगाडि बढाइएको मन्त्रालयको प्रगति विवरणमा उल्लेख छ ।


