Banijya News

नेपाली सेनाले माग्यो अमेरिकासँग १५ अर्ब १८ करोड रुपैयाँको हेलिकोप्टर

1
1.1K Shares

नेपाली सेनाले १० करोड अमेरिकी डलर (१५ अर्ब १८ करोड रुपैयाँ) बराबरको ६ वटा वेल हेलिकप्टर सहायताका निम्ति अमेरिकासमक्ष प्रस्ताव पठाएको छ । सेनाले रक्षा मन्त्रालय हुँदै परराष्ट्र मन्त्रालयमार्फत उक्त प्रस्ताव पठाएको हो ।

नेपाली सेनाका प्रवक्ता सहायक रथी राजाराम बस्नेतका अनुसार, ६ वटा हेलिकप्टरको माग गर्दैै प्रस्ताव पठाइएकोे छ । नेपालको भौगोलिक अवस्थाअनुसारको आवश्यकता, मानवीय सहायता र नेपाली सेनाको आवश्यकता पूरा गर्ने उद्देश्यले हेलिकप्टर माग गरिएको हो ।

यसअघि वैशाखको दोस्रो साता अमेरिकाले काठमाडौंस्थित आफ्‌नो दूतावास हुँदै परराष्ट्र मन्त्रालयमार्फत नेपाली सेनालाई ६ वटा हेलिकप्टर अनुदान सहायतास्वरुप उपलब्ध गराउने प्रस्ताव गरेको थियो । त्यसपछि अमेरिकाले हेलिकप्टर नेपाली सेनाका निम्ति आवश्यक हो वा होइन, हो भने कस्ता हेलिकप्टर र कतिवटा आवश्यक हो भनी सोधेको थियो । तर, त्यो दुई महिना बित्दासम्म जवाफ पठाउन सकेको थिएन । नेपाली सेनाले सरोकारवाला निकायसँग लामो छलफल गरी ६ वटै हेलिकप्टर आवश्यक रहेको उल्लेख गरी हालै अमेरिकालाई प्रस्ताव पठाएको हो ।

प्रस्तावमा सेनाले अमेरिकासँग ६ वटा वेल हेलिकप्टर उपलब्ध गराउन आग्रह गरेको छ । ६ मध्ये दुई वटा डबल इन्जिन र ४ वटा सिंगल इन्जिन हेलिकप्टरका छन् । डबल इन्जिन भएका दुईवटा हेलिकप्टरमा ‘फायर फाइटिङ’ सुविधायुक्त हुनेछन् । विशेषगरी अग्ला भवन र वन डढेलो लागेको स्थानमा आगो निभाउन यी हेलिकप्टर प्रयोग गरिनेछ । हाल नेपाली सेनासँग यस्तो सुविधा भएको हेलिकप्टर नभएको बताइएको छ । बाँकी चारवटा हेलिकप्टर पनि विपद्का समयमा उच्च भूभागमा समेत प्रयोग गर्न सकिने प्रकारका रहेको बताइन्छ ।

ती ६ वटै हेलिकप्टर सन् २०२८ मा नेपाल आइपुग्ने गरी प्रस्ताव गरिएको छ । प्रस्तावमा ती हेलिकप्टर चलाउने पाइलटलाई आवश्यक तालिम दिन र दुई वर्षसम्मको मर्मत खर्च पनि व्यहोर्न अमेरिकासँग अनुरोध गरिएको छ ।

अमेरिकाले नेपाली सेनालाई यसअघि पनि हेलिकप्टर तथा विमान उपलब्ध गराएको थियो । अमेरिकाले यसअघि सन् २०२५ को सेप्टेम्बरमा नेपाली सेनालाई दुई वटा ‘एम २८ स्काई ट्रक’ (विमान) हस्तान्तरण गरेको थियो । वैदेशिक सहायता कार्यक्रमअन्तर्गत ती दुई वटा विमान अमेरिकाले नेपाली सेनालाई हस्तान्तरण गरेको थियो ।

1

Scroll to Top