चालु आर्थिक वर्ष सकिन लाग्दा पुँजीगत खर्च एक तिहाइमा सीमित भएको छ । चालु आव सकिन लाग्दा पुँजीगत खर्च बढाइने प्रवृत्ति पुरानै हो । विगतका ११ महिनामा सन्तुलित र व्यवस्थित रूपमा सरकारी खर्च गर्न नसक्दा अहिले अन्तिम महिनामा सरकारलाई खर्च बढाउन दबाब छ । विगतदेखिकै यो प्रवृत्तिलाई नयाँ शक्तिका रूपमा उदाएको रास्वपाको सरकारले समेत तोड्न नसकेको देखिएको छ ।
ससरकारले मंगलबार एकै दिन ११ अर्ब ७६ करोड ८२ लाख रुपैयाँ खर्च गरेको छ । अघिल्लो दिन सोमबार एकै दिन २८ अर्ब ५५ करोड ७१ लाख रुपैयाँ खर्च गरेको थियो । महालेखा नियन्त्रकको कार्यालयले सार्वजनिक गरेको तथ्यांकअनुसार सोबराबरको खर्च भएको देखिएको हो ।
आर्थिक वर्षको अन्तिममा सरकारी खर्चको भुक्तानीलाई सरकारले तीव्रता दिएको छ । पछिल्लो पाँच दिन अर्थात् असार १९ देखि २३ गतेसम्ममा मात्र सरकारले ५७ अर्ब ६२ करोड रुपैयाँमाथि भुक्तानी दिएको महालेखा नियन्त्रक कार्यालयले जनाएको छ । पाँच दिनको भुक्तानी हेर्ने हो भने सबैभन्दा बढी सोमबार एकै दिन २८ अर्ब ५५ करोड ७१ लाख रुपैयाँ खर्च भएको छ । सरकारले भुक्तानी गर्न पाउने समय २५ असारसम्म मात्रै छ ।
तथ्यांकअनुसार, सोमबार नौ अर्ब ६२ करोड ६४ लाख चालू, दुई अर्ब ५७ करोड सात लाख पुँजीगत र १६ अर्ब ३६ करोड वित्तीय व्यवस्थापन खर्च गरेको छ । असार २२ गतेसम्म सरकारले लक्ष्यको ७६.४३ प्रतिशत खर्च गरेको छ । सरकारले यो वर्षका लागि १९ खर्ब ६४ अर्ब ११ करोड रुपैयाँको बजेट ल्याएको छ । त्यसमा असार २२ गतेसम्म १५ खर्ब तीन अर्ब १० करोड ८१ लाख खर्च भएको छ । तर, सरकारले यो वर्ष १६ खर्ब ९६ अर्ब ३२ करोड ६८ लाख रुपैयाँ खर्च हुने संशोधित अनुमान गरेको छ ।
सरकारले यो वर्ष चार खर्ब सात अर्ब ८८ करोड ८० लाख रुपैयाँ पुँजीगत खर्च गर्ने लक्ष्य लिएको छ । तर, असार २२ गतेसम्म ३७.२३ प्रतिशत मात्रै पुँजीगत खर्च भएको छ । यस अवधिमा एक खर्ब ५१ अर्ब ८६ करोड ३६ लाख रुपैयाँ खर्च भएको छ । यो वर्ष दुई खर्ब ५१ अर्ब ३९ करोड ९० लाख रुपैयाँ पुँजीगत खर्च हुने संशोधित अनुमान छ ।
वित्तीय व्यवस्थातर्फ भने सरकारले ८९.७३ प्रतिशत खर्च गरिसकेको छ । यो वर्ष वित्तीय व्यवस्थातर्फ तीन खर्ब १२ अर्ब ९९ करोड २३ लाख रुपैयाँ बजेट छ । त्यसमा असार २२ सम्म तीन खर्ब ३६ अर्ब ७० करोड ७४ लाख रुपैयाँ खर्च भएको छ ।
सरकारले पहिलेजस्तो हतारमा काम समाउने र जथाभावी भुक्तानी दिने प्रवृत्तिको अन्त्य गर्ने बताए पनि असारे खर्च कम भएको देखिँदैन । अघिल्ला महिनाहरुको तुलनामा जेठ, असारमा नै बढी खर्च भएको पाइएको छ ।


