Banijya News

पप्पु कन्सट्रक्सनसहित ८ कम्पनी कालोसूचीमा, सार्वजनिक खरिदमा सहभागी हुन नपाउने

1
1.1K Shares

सम्झौताअनुसार काम नगर्ने पप्पु कन्सट्रक्सनसहित विभिन्न ८ वटा निर्माण कम्पनी तथा आपूर्तिकर्ता कम्पनी कालोसूचीमा परेका छन् । सार्वजनिक खरिद अनुगमन कार्यालयले शुक्रबार सूचना जारी गर्दै सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ को उपदफा (१) बमोजिम ती कम्पनीहरूलाई १ देखि ३ वर्षसम्मका लागि कालोसूचीमा राखिएको जनाएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयअन्तर्गतको सार्वजनिक खरिद अनुगमन कार्यालयले असार २५ गते गरेको निर्णयअनुसार कालोसूचीमा परेका कम्पनीहरूले तोकिएको अवधिभर कुनै पनि सार्वजनिक निकायको खरिद प्रक्रियामा सहभागी हुन पाउने छैनन् ।

हुलाकी राजमार्ग निर्देशनालयको सिफारिसमा पप्पु/महादेव जेभी (पप्पु कन्सट्रक्सन र महादेव खिम्ती निर्माण सेवा) तथा श्रेष्ठ कन्सट्रक्सन कम्पनी, हेटौंडालाई सबैभन्दा बढी ३–३ वर्षका लागि कालोसूचीमा राखिएको छ । पप्पु कन्सट्रक्सनका मुख्य व्यक्ति सुमित रौनियार तथा महादेव खिम्ती निर्माण सेवाका मुख्य व्यक्ति रवि सिंह रहेका छन् ।

त्यस्तै, सडक डिभिजन हर्कपुर, ओखलढुंगाको सिफारिसमा शुभम् निर्माण सेवालाई २ वर्ष र मयुमी कन्सट्रक्सनलाई १ वर्षका लागि कालोसूचीमा राखिएको छ । पूर्वाधार विकास निर्देशनालय, सुर्खेतको सिफारिसमा हीरा नेपाली निर्माण सेवालाई पनि २ वर्षका लागि प्रतिबन्ध लगाइएको छ ।

त्यसैगरी, पुष्पलाल (मध्यपहाडी) राजमार्ग योजना कार्यालय, कुश्माको सिफारिसमा भारत/सिद्धिसाई जेभीलाई १ वर्ष ६ महिनाका लागि कालोसूचीमा राखिएको छ । साथै, नेपाल खानेपानी संस्थान, बुटवलको सिफारिसमा लुम्बिनी मोटर्स एण्ड पम्प इन्डष्ट्रिज तथा त्रिवेणी नगरपालिका, बाजुराको सिफारिसमा ग्लोब ड्रग्स सप्लायर्सलाई १–१ वर्षका लागि कालोसूचीमा राखिएको कार्यालयले जनाएको छ ।

1

Scroll to Top