तरलता व्यवस्थापन गर्ने उद्देश्यले नेपाल राष्ट्र बैंकले आज शुक्रबार ६० अर्ब बराबरको निक्षेप संकलन गर्ने भएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले सूचना जारी गर्दै १९ दिनको निक्षेप संकलन उपकरणमार्फत उक्त रकम संकलन गर्न बोलकबोल आह्वान गरेको हो ।
बोलकबोल शुक्रबार दिउँसो ३ बजेसम्म अनलाइन बिडिङ सिस्टम सफ्टवेयर (ओबीएसएस) मार्फत हुनेछ । निक्षेप संकलन उपकरण आजै निष्कासन गरिनेछ भने यसको साँवा तथा ब्याज आगामी असोज २३ गते भुक्तानी गरिनेछ । ब्याजदर बोलकबोल प्रक्रियाबाट निर्धारण हुनेछ ।
बोलकबोलमा न्यूनतम १० करोड र अधिकतम रु. पाँच करोड दरले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म आवेदन दिन सकिने छ । निक्षेप संकलन उपकरणमा बैंक तथा वित्तीय संस्था मात्र सहभागी हुन पाउनेछन् ।
निक्षेप संकलनको बोलकबोल ब्याजदरमा गर्नुपर्नेछ । बहुब्याजदरमा पनि बहुबोलकबोल गर्न सकिनेछ ।


