मिटरब्याजपीडितहरू जनकपुरबाट काठमाडौंसम्मको पैदल ‘न्याय मार्च’मा निस्किएका छन् । मिटरब्याजीहरूको शोषण र अत्याचारविरुद्ध न्याय माग्दै काठमाडौं हिँडेका पीडितहरू दोस्रो दिन शुक्रबार धनुषाको ढल्केबर पुगेका हुन् ।
मिटरब्याजविरुद्ध किसान–मजदुर आन्दोलन, नेपालको आयोजनामा हिजो विहीबार सुरु भएको यो पैदल ‘न्याय मार्च’ संघीय राजधानी काठमाडौँ पुगेर टुंगिने तय भएको छ । मिटरब्याजको समस्या समाधान गर्न सरकारलाई दबाब दिने उद्देश्यले उनीहरू मधेस प्रदेशको राजधानी जनकपुरधामबाट पैदल यात्रामा निस्किएका हुन् ।
जनकपुरधामको तिरहुतियागाछीमा कार्यक्रम आयोजना गरी उनीहरूले बिहीबार साँझ ५ बजे यात्रा सुरु गरेका थिए । पैदल मार्चको दोस्रो दिन बिहानै पीडितहरु ढल्केबर पुगेका हुन् । न्यायको खोजीमा रहेका यी आन्दोलनकारीहरू धनुषाको महेन्द्रनगर हुँदै महोत्तरीको बर्दिवासतर्फ अगाडि बढिरहेका छन् । करिब एक साताको अवधिमा संघीय राजधानी काठमाडौँ पुग्ने उनीहरुको योजना छ ।
सरकारसँग यसअघि चार पटक सहमति भए पनि कार्यान्वयन नभएकाले पुनः आन्दोलनमा उत्रिनुपरेको पीडितहरूको भनाइ छ । राज्यले आफूहरूसँग गरेका वाचा र सहमतिहरू कागजमै सीमित भएपछि फेरि पनि सरकारलाई घचघच्याउन र दबाब दिन काठमाडौंसम्मको लामो पैदल यात्रा तय गर्नुपरेको पीडितहरूको भनाइ छ ।
साहुमहाजनको ऋणको चक्रव्यूहमा फसेका किसान र मजदुरहरू न्याय नपाएसम्म आफ्नो आन्दोलन नरोकिने संकेत गर्दै सडकमा उत्रिएका छन् । उनीहरूले मिटरब्याजसम्बन्धी समस्या दीर्घकालीन रूपमा समाधान गर्न र विगतका सहमति तत्काल कार्यान्वयन गर्न माग गरेका छन् ।


