Banijya News

बीमा दाबीमा अन्याय भए प्रमाणसहित उजुरी दिन प्राधिकरणको आग्रह

1
1.0K Shares

बीमा दाबी भुक्तानी, क्षतिको मूल्याङ्कन तथा बीमासम्बन्धी अन्य प्रक्रियामा अनियमितता वा अन्याय भएको महसुस गरेमा प्रमाणसहित उजुरी दिन नेपाल बीमा प्राधिकरणले सर्वसाधारणलाई आग्रह गरेको छ। पछिल्लो समय बीमा कम्पनी, तिनका कर्मचारी तथा बीमा सर्भेयरबाट कानुन र व्यावसायिक आचारसंहिताविपरीत काम भएको भन्दै गुनासोहरू बढ्न थालेपछि प्राधिकरणले सार्वजनिक सूचना जारी गर्दै उजुरी प्रक्रिया प्रभावकारी बनाएको हो।

प्राधिकरणका अनुसार बीमा दाबीको निर्णय गर्दा निष्पक्षता कायम हुनुपर्ने भए पनि केही घटनामा तथ्य लुकाउने, गलत विवरण तयार गर्ने, क्षतिको मूल्याङ्कनमा पक्षपात गर्ने तथा अनुचित लाभ लिने जस्ता गतिविधिका विषयमा उजुरी प्राप्त भइरहेका छन्। यस्ता कार्यले बीमितको अधिकारमाथि प्रत्यक्ष असर पार्ने भएकाले दोषी देखिने व्यक्ति वा संस्थामाथि कानुनअनुसार कारबाही गरिने जनाएको छ।

सार्वजनिक सूचनामा बीमा कम्पनी, बीमा कम्पनीका कर्मचारी, बीमा सर्भेयर वा दाबी प्रक्रियामा संलग्न अन्य कुनै पक्षबाट नियामकीय व्यवस्था उल्लङ्घन भएको प्रमाण फेला परे बीमा ऐन, २०७९ अनुसार अनुसन्धान गरी आवश्यक कानुनी प्रक्रिया अघि बढाइने उल्लेख गरिएको छ। प्राधिकरणले बीमा क्षेत्रमा पारदर्शिता, उत्तरदायित्व र सेवाग्राहीको अधिकार सुनिश्चित गर्न यस्तो कदम चालिएको स्पष्ट पारेको छ।

उजुरी दर्ता गर्दा सम्बन्धित व्यक्तिले आवश्यक विवरण स्पष्ट रूपमा उपलब्ध गराउनुपर्ने व्यवस्था गरिएको छ। उजुरीकर्ताले आफ्नो नाम, ठेगाना, सम्पर्क नम्बर, सम्बन्धित बीमा कम्पनीको नाम, समस्या वा विवादको विस्तृत विवरण तथा बीमा दाबी नम्बर र बीमालेख नम्बर उल्लेख गर्नुपर्नेछ। त्यसैगरी दाबीलाई पुष्टि गर्ने कागजात, तस्बिर, भिडियो वा अन्य प्रमाणसमेत संलग्न गर्न प्राधिकरणले आग्रह गरेको छ।

2026-07-13-12-00-56-2083-03-29-16

1

Scroll to Top