Banijya News

वाणिज्य बैंकहरुको गैरबैंकिङ सम्पत्तिमा निरन्तर वृद्धि, कुनको कति बढ्यो ?

1
1.0K Shares

खराब कर्जा असुली सुस्त बन्दा वाणिज्य बैंकहरुमा गैरबैंकिङ सम्पत्ति थुप्रिने क्रम बढेको छ । बैंकहरुमा अधिक तरलता रहेको छ भने नयाँ कर्जा प्रवाहले गति लिन नसक्दा बैंकहरुको वित्तीय अवस्थामा दबाब बढिरहेको छ ।

नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार चालु आवको जेठ मसान्तसम्म वाणिज्य बैंकहरुको गैरबैंकिङ सम्पत्ति १८.८१ प्रतिशतले वृद्धि भएको छ । जेठ महिनासम्ममा गैरबैंकिङ सम्पत्ति ४६ अर्ब ८ करोड ७८ लाख रुपैयाँ पुगेको तथ्यांक छ । गत वर्षको सोही अवधिमा ३८ अर्ब ७९ करोड ११ लाख रुपैयाँबराबरको गैरबैंकिङ सम्पत्ति रहेको थियो ।

अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा वाणिज्य बैंकहरुमध्ये ७ वटाको गैरबैंकिङ सम्पत्ति घटेको छ भने १२ वटाको बढेको छ । वाणिज्य बैंकहरुमध्ये प्राइम कमर्सिलय बैंक प्रभु, सिटिजन्स, एनएमबि र सानिमा बैंकको गैरबैंकिङ सम्पत्ति सबैभन्दा धेरै दरले बढेको छ ।

तर, समीक्षा अवधिमा ग्लोबल आइएमई, एनआईसी एसिया, नबिल, कुमारी, माछापुच्छ्रे, एभरेष्ट र राष्ट्रिय वाणिज्य बैंकले भने गैरबैंकिङ सम्पत्ति घटाएका छन् ।

तथ्यांकअनुसार, सबैभन्दा धेरै गैरबैंकिङ सम्पत्ति हिमालयन बैंकको रहेको छ । बैंकको यस्तो सम्पत्ति ६ अर्ब २३ करोड ८५ लाख रुपैयाँ पुगेको छ, जुन अघिल्लो वर्षको तुलनामा १७.२९ प्रतिशत बढी हो ।

यसैगरी, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको गैरबैंकिङ सम्पत्ति ४७.१९ प्रतिशतले बढेर ४ अर्ब ७० करोड ३२ लाख रुपैयाँ पुगेको छ । प्राइम कमर्सियल बैंकको गैरबैंकिङ सम्पत्ति सबैभन्दा धेरै बढेको छ । उक्त बैंकको गैरबैंकिङ सम्पत्ति ४ अर्ब ६८ करोड ८४ लाख रुपैयाँ पुगेको छ । जुन १०७.२९ प्रतिशतको उल्लेखनीय वृद्धिसहित सबैभन्दा धेरै वृद्धि भएको देखिएको हो ।

त्यस्तै, लक्ष्मी सनराइज बैंकको गैरबैंकिङ सम्पत्तिमा २७.७४ प्रतिशतले वृद्धि भई २ अर्ब ४४ करोड ३२ लाख रुपैयाँ पुगेको छ । यसैगरी, एनएमबी बैंकको ५४ प्रतिशत, प्रभु बैंकको ५५.०१ प्रतिशत, सिटिजन्स बैंक इन्टरनेसनलको ५५.०१ प्रतिशत, कृषि विकास बैंकको ३६ प्रतिशत, नेपाल एसबीआई बैंकको ४९.३७ प्रतिशत तथा सानिमा बैंकको ५३.३८ प्रतिशतले गैरबैंकिङ सम्पत्ति बढेको तथ्यांक छ ।

समीक्षा अवधिमा सिद्धार्थ बैंकको गैरबैंकिङ सम्पत्ति १९.६२ प्रतिशतले वृद्धि भएको देखिएको छ । नेपाल बैंकको गैरबैंकिङ सम्पत्ति १४.४७ प्रतिशतले वृद्धि हुँदा स्ट्यान्डर्ड चार्टर्ड बैंकको गैरबैंकिङ सम्पत्ति भने शून्य रहेको तथ्यांकमा उल्लेख छ ।
समीक्षा अवधिमा ग्लोबल आईएमई बैंकको गैरबैंकिङ सम्पत्ति ५ अर्ब ८९ करोड ११ लाख रुपैयाँ रहेको छ । यद्यपि, यो अघिल्लो वर्षको तुलनामा ०.७७ प्रतिशतले घटेको देखिन्छ ।

त्यस्तै, एनआईसी एशिया बैंकको गैरबैंकिङ सम्पत्ति पनि १०.५३ प्रतिशतले घटेको पाइएको छ । तथ्यांकअनुसार, एनआईसी एशियाको गैरबैंकिङ सम्पत्ति ४ अर्ब १७ करोड ७१ लाख रुपैयाँमा सीमित भएको छ । नबिल बैंकको पनि १०.९१ प्रतिशतले घटेर ३ अर्ब ३८ करोड ७८ लाख रुपैयाँमा झरेको छ ।

कुमारी बैंकको गैरबैंकिङ सम्पत्ति ३.१२ प्रतिशतले घटेर २ अर्ब ४५ करोड १८ लाख रुपैयाँ रहेको छ । साथै, समीक्षा अवधिमा माछापुच्छ्रे बैंकको ३२.७९ प्रतिशत, एभरेष्ट बैंकको १७.४२ प्रतिशत तथा राष्ट्रिय वाणिज्य बैंकको २.९७ प्रतिशतले गैरबैंकिङ सम्पत्ति घटेको देखिएको छ ।

1

Scroll to Top