पछिल्ला वर्षहरुमा शेयर बजारप्रति आम मानिसहरुको चासो र उपस्थिति बढ्दै जाँदा दोस्रो बजारमा कारोबार गर्नेहरुको संख्या पनि बढ्दै गएको छ । नेपाल धितोपत्र बोर्डले हालसालै सार्वजनिक गरेको नेपाल पुँजीबजार विकास मार्गचित्र, २०८३ अनुसार नेपालमा डिम्याट (हितग्राही) खाताको संख्या ७७ लाख ६६ हजार पाँच सय ६५ पुगेको छ ।
सो प्रतिवेदनअनुसार, विगत पाँच वर्षको अवधिमा शेयर कारोबार गर्ने (टिएमएस) खाता खोल्नेको संख्या पनि उल्लेखनीय रुपमा वृद्धि भएको छ । धितोपत्रको दोस्रो बजारमा कारोबार गर्नका लागि प्रत्येक लगानीकर्ताहरुले टिएमएस खाता खोल्नुपर्ने हुन्छ । चालु आर्थिक वर्ष २०८२/८३ को जेठ मसान्तसम्म टिएमएस खाता खोल्ने लगानीकर्ताको संख्या ३४ लाख ६६ हजार चार सय ९९ जना पुगेको तथ्यांक छ ।
त्यसो त, आर्थिक वर्ष २०७७/७८ सम्म नेपालमा करिब १७ लाख हाराहारीमा मात्र डिम्याट खाता खोलिएको थियो । अहिले नेपालको कूल जनसंख्याको २६ प्रतिशतभन्दा बढी लगानीकर्ताको डिम्याट खाता रहेको पाइएको छ ।
तथ्यांकअनुसार, डिम्याट खाता सबैभन्दा धेरै बाग्मती प्रदेशमा ३४ दशमलव १३ प्रतिशतले खोलेका छन् भने सबैभन्दा कम कर्णाली प्रदेशमा दुई दशमलव ९८ प्रतिशतले खोलेका छन् । यसैगरी, कोशी प्रदेशमा १८ दशमलव ९३ प्रतिशत, गण्डकी प्रदेशमा १२ दशमलव ४६ प्रतिशत, लुम्बिनी प्रदेशमा १२ दशमलव १४ प्रतिशत, मधेस प्रदेशमा १२ दशमलव ६८ प्रतिशत र सुदूरपश्चिम प्रदेशमा छ दशमलव ६७ प्रतिशतले डिम्याट खाता खालेको विवरण छ ।
नेपाल पुँजीबजार विकास मार्गचित्र, २०८३ अनुसार मेरो शेयर खाता खोल्ने लगानीकर्ताको संख्या पनि उत्तिकै बढेको छ । आव २०७७/७८ सम्म मेरो शेयर खाता खोल्ने संख्या सात लाख रहेको थियो । तर, चालु आवको जेठ मसान्तसम्मको अवधिमा भने ६७ लाख ३७ हजार दुई सय ५४ लगानीकर्ताले मेरो शेयर खाता खोलेका छन् ।
विगत पाँच वर्षको अवधिमा टिएमएस खाता खोल्नेको संख्या पनि उल्लेखनीय रुपमा बढेको प्रतिवेदनमा उल्लेख छ । आव २०७७/७८ मा टिएमएस खाता खोल्ने लगानीकर्ताको संख्या करिब ३५ हजार मात्रै रहेको थियो । तर, चालु आवको जेठ मसान्तसम्म टिएमएस खाता हुने लगानीकर्ता ३५ लाखको हाराहारीमा पुग्न लागेको छ । प्रतिवेदनअनुसार शेयर पुँजीबजारमार्फत सरकारलाई प्राप्त हुने पुँजीगत लाभकरबापत प्राप्त हुने राजस्वमा पनि उल्लेखनीय वृद्धि भएको छ ।
आव २०७७/७८ मा सरकारले पुँजीबजारबाट लाभकरबापत १५ अर्ब ५४ करोड रूपैयाँ राजस्व प्राप्त गरेको थियो । चालु आवको जेठ मसान्तसम्मको अवधिमा सरकारले पुँजीगत लाभकर वापत १० अर्ब ७० करोड रूपैयाँ राजस्व संकलन गरेको छ ।
चालु आर्थिक वर्षमा शेयर बजार निरन्तर ओरालो लागेकाले अपेक्षाकृत पुँजीगत लाभकर उठ्न सकेको छैन । तथापि, नेपाल पुँजीबजार विकास मार्गचित्र, २०८३ अनुसार नेपालको पुँजी बजारले पछिल्लो तीन दशकमा उल्लेखनीय विस्तार गरेको जनाएको छ । सन् २०२६ सम्म आइपुग्दा नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा दुई सय ९७ कम्पनी सूचीकृत रहेका छन् । बजार पुँजीकरण करिब ४६ खर्च ५६ अर्ब रूपैयाँ पुगेको छ, जुन कूल गार्हस्थ्य उत्पादन (जिडिपी) को करिब ७० दशमलव ५२ प्रतिशत बराबर रहेको विवरणमा उल्लेख छ ।


