Banijya News

बैंकहरूको ब्याजदर घट्यो, कुनको कति ?

1
1.0K Shares

वाणिज्य बैंकहरूले साउन महिनाका लागि लागू हुने निक्षेप ब्याजदर सार्वजनिक गरेका छन् । असारको तुलनामा अधिकांश बैंकले ब्याजदर यथावत् राखे पनि केही बैंकले व्यक्तिगत तथा संस्थागत दुवै निक्षेपको ब्याजदर घटाएका छन् ।

सार्वजनिक विवरण अनुसार व्यक्तिगत मुद्दति निक्षेपको औसत ब्याजदर साउनमा ४.१७ प्रतिशत कायम गरिएको छ । असारमा औसत ब्याजदर ४.२७ प्रतिशत रहेको थियो । त्यस्तै, संस्थागत निक्षेपको औसत ब्याजदर ३.१८ प्रतिशतबाट घटेर ३.१२ प्रतिशत पुगेको छ ।

आर्थिक वर्ष २०८३/८४ को पहिलो साउन महिनाका लागि राष्ट्रिय वाणिज्य बैंकले सबैभन्दा धेरै ब्याजदर घटाएको छ । बैंकले व्यक्तिगत निक्षेपमा ०.७५ प्रतिशत र संस्थागत निक्षेपमा १ प्रतिशतले ब्याजदर घटाएको छ । साउन महिनाका लागि यस बैंकको ब्याजदर व्यक्तिगततर्फ ४ प्रतिशत र संस्थागततर्फ ३ प्रतिशत कायम भएको छ ।

यस्तै, ग्लोबल आइएमई बैंकले व्यक्तिगततर्फ ०.५० प्रतिशत र संस्थागततर्फ ०.२५ प्रतिशत, एनएमबि बैंकले व्यक्तिगततर्फ ०.२५ प्रतिशत र संस्थागततर्फ ०.५० प्रतिशत ब्याजदर घटाएको छ ।

यसैगरी, सिटिजन्स बैंकले व्यक्तिगततर्फ ०.१५ प्रतिशत र संस्थागततर्फ ०.५० प्रतिशत तथा कुमारी बैंक र स्ट्याण्डर्ड चार्टर्ड बैंकले व्यक्तिगत निक्षेपको ब्याजदर क्रमशः ०.०६ र ०.१० प्रतिशतले घटाएका छन् ।

तर, नेपाल बैंकले भने संस्थागत निक्षेपको ब्याजदर ३ प्रतिशतबाट बढाएर ४ प्रतिशत पुर्याएको छ भने अधिकांश अन्य बैंकहरूले असारकै ब्याजदरलाई निरन्तरता दिएका छन् । बैंकहरूमा पर्याप्त तरलता र कर्जाको माग अपेक्षाकृत कमजोर रहेकाले निक्षेपको ब्याजदर निरन्तर घटेको विश्लेषण गरिएको छ ।

1

Scroll to Top